पश्चिमा राष्ट्रसँग युक्रेनी राष्ट्रपतिले भने- मेसिन गन प्रभावकारी भएन, नाटोका लडाकु विमान र एक प्रतिशत ट्याङ्क चाहियो

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमा राष्ट्रसँग थप सैन्य सहयोगको माग गरेका छन्।

शनिबार राति अबेर एक भिडियो सन्देशमा जेलेन्स्कीले युक्रनेनमा रहेको मेसिन गनले रूसी लडाकुहरूलाई गोली हान्न नसक्ने बताउँदै लडाकु विमान, ट्याङ्क र क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पश्चिमी देशहरूसँग आग्रह गरेका हुन्। उनले युरोपको सुरक्षाका लागि बनाइएका हतियार गोदाममा रहेको धुलो खाँदै गएको बताए। 

‘रुसी आक्रमणबाट सुरक्षाको मूल्य के होरु त्यसको स्पष्ट जवाफ छ। हाम्रा सहयोगीहरूसँग हतियारहरू छन् र तिनीहरू गोदामहरूमा छन्। यो युक्रेनको स्वतन्त्रताको बारेमा मात्र होइन, यो सम्पूर्ण युरोपको स्वतन्त्रताको बारेमा हो,’ उनले भने,‘हामीलाई एन्टी–सिप हतियार चाहिएको छ। यी हतियार हाम्रा साझेदारसँग छन्। ती हतियार उनीहरुका गोदाममा धूलो लागेर बसेका छन्, यहाँ हामीलाई हाम्रो रक्षाका लागि चाहिएको छ।’

उनले युक्रेनलाई नाटोका लडाकु विमान र एक प्रतिशत ट्याङ्क मात्र चाहिने बताए।‘हामीले त्योभन्दा बढी माग गरेका छैनौं।  हामीले ३१ दिन पर्खिसकेका छौं,’ उनले भने।

युक्रेनमात्रै नभएर बाल्टिक क्षेत्रका देशहरु नै रुसी आक्रमणको निशानामा आएको उनले बताए। युक्रेनलाई कब्जामा लिएको खण्डमा रुसले युरोपको भूभागमा आफ्नो पाइला थप विस्तार गर्ने पनि उनले बताए। ‘पोल्याण्ड, स्लोभाकिया र पूर्वी युरोप नै रुसी आक्रमणको निशानामा छ र यो कसैका लागि पनि स्वीकार्य हुनु हुँदैन,’ उनले भने।

यसै क्रममा पोल्याण्ड भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनी सरकारका मन्त्रीहरुसँग भेट गरेका छन्। रुस–युक्रेन युद्ध सुरु भएयता युक्रेनी नेताहरूसँग उनको यो पहिलो भेट हो। युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आफूले अन्य देशबाट हतियार प्राप्त गरिरहेको बताएका छन्।

उनले भने, ‘अमेरिकाबाट युक्रेनले हतियारको मामिलामा जति सहयोग गरेको छ, त्यो अरु कुनै देशबाट प्राप्त भएको छैन। जुन हाम्रो लागि रणभूमिमा सफल साबित हुनेछ। अमेरिकाबाट थप हतियार दिने आश्वासन पाएका छौं।’

युक्रेनले पश्चिमा राष्ट्रसँग लगातार लडाकु विमानको माग गर्दै आएको छ। रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ। जसका कारण एक करोडभन्दा बढी युक्रेनी आन्तरिक वा बाह्य रुपमा विस्थापित भएका छन्।

प्रतिक्रिया