स्थानीय तह निर्वाचन : मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्दै आयोग

काठमाडौं– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीको अन्तिम सूची आइतबार प्रकाशन गर्ने भएको छ। मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न लागेको हो।

मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्नेछ। यसरी अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन सकिने छैन।

फागुन १९ गतेदेखि एक साताको म्याद राखेर मतदाता नामावली अद्यावधिक (दाबी विरोध) गर्न र त्रुटि भए सच्याउन आयोगले आवेदन आह्वान गरेको थियो । नाम दोहोरिएको, मृत्यु भएका वा नागरिकता त्याग गरेका, झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन आह्वान गरिएकोमा आयोगले वडा, पालिका र निर्वाचन कार्यालयसँगको समन्वयमा मतदाताको अन्तिम नामावली तयार गरेको हो।

दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको आयोगले अनुमान गरेको छ। २०७७ पुस ५ गतेसम्म एक करोड ६२ लाख ४३ हजार ११० जना मतदाता कायम थियो।

गत मंसिर र पुस महिनामा सञ्चालित मतदाता नामावली विशेष अभियानमा करिब १८ लाख जनाले नामावली दर्ता गराएको आयोगले जनाएको छ। आयोगले माघ २४ गतेसम्म निर्वाचन कार्यालयमा दर्ता कायम १६ वर्ष उमेर पुुगेका नेपाली नागरिकमध्ये वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरिसकेको छ।

प्रतिक्रिया