अमेरिकी राष्ट्रपति र युक्रेनीबीच पोल्याण्डमा भेटवार्ता

काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनका विदेश र रक्षामन्त्रीसँग भेटवार्ता गरेका छन्। शनिबार वाइडेनले पोल्याण्डको राजधानी वार्सामा युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबा र रक्षामन्त्री ओलेक्सी रेज्निकोभ भेटवार्ता गरेका हुन्।

युक्रेनमा रुसी आक्रमणपछि अमेरिकी राष्ट्रपति वाइडेनले पहिलो पटक युक्रेनी मन्त्रीहरूसँग भेट गरेका हुन्। अमेरिकी राष्ट्रपति वाइडेन र युक्रेनी मन्त्रीहरूले वार्सा रेल स्टेसनको अर्को छेउमा रहेको शहरको केन्द्रमा रहेको मेरियट होटलमा भेटेका थिए। यस सहरमा युक्रेनी शरणार्थीहरू ठूलो संख्यामा आउने क्रम जारी छ।

यस बैठकको क्रममा अमेरिकी राष्ट्रपति वाइडेन, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिन ठूलो टेबुलको एक छेउमा बसेको देखिन्छ। अर्कोतिर युक्रेनी विदेशमन्त्री कुलेबा र रक्षामन्त्री रेज्निकोभ बसिरहेका देखिन्छ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रति अमेरिकाको दृढ प्रतिबद्धता रहेको दोहोर्याएका छन्।

यसका साथै युक्रेनलाई मानवीय सहायता, सुरक्षा र आर्थिक सहायता प्रदान गरिने उनले बताएका छन्। यसअघि युक्रेनमा रुसी आक्रमण हुनुभन्दा दुई दिनअघि फेब्रुअरी २२ मा अमेरिकी राष्ट्रपति वाइडेनले युक्रेनी विदेशमन्त्री कुलेबासँग भेट गरेका थिए। त्यसपछि युक्रेनी विदेशमन्त्री कुलेबाले मार्च ५ मा पोल्याण्डमा ब्लिन्केनलाई भेटेका थिए।

ब्रसेल्समा नेटो र युरोपेली संघका नेताहरुसँग भेटेर अमेरिकी राष्ट्रपति वाइडेन पोल्याण्ड पुगेका हुन्।

प्रतिक्रिया