रुसी रक्षामन्त्री शोइगुलाई हृदयघात भएको युक्रेनको दाबी

काठमाडौं– युक्रेनका आन्तरिक मामिला मन्त्रीका सल्लाहकार एन्तन गेरासेन्कोले रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई हृदयघात भएको दाबी गरेका छन्। शोइगु मार्च ११ यता सार्वजनिक रूपमा देखिएका थिएनन्।

तर, २४ मार्चमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री शोइगुलाई देखाउँदै एक भिडियो सार्वजनिक गरेका थिए।

‘युक्रेनमा रुसको आक्रमण असफल भएको पुटिनले आरोप लगाएपछि रुसी रक्षामन्त्री शोइगुलाई हृदयघात भएको छ,’ युक्रेनका आन्तरिक मन्त्रीका सल्लाहकारले फेसबुकमा लेखेका छन्।

रक्षामन्त्री शोइगुको अहिले अस्पतालमा उपचार भइरहेको दाबी गरिएको छ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो भिडियो सम्बोधनमा भनेका थिए,‘उनीहरू भन्छन् कि रुसका रक्षामन्त्री शोइगु कतै बेपत्ता छन्।’

युक्रेनी सेनाको प्रशंसा गर्दै जेलेन्स्कीले रुसी आक्रमणकारीहरूलाई युक्रेनी सैनिकहरूले कडा जवाफ दिएको र उनीहरूलाई धेरै क्षति पुगेको बताए।

प्रतिक्रिया