रुस-युक्रेन युद्ध एक महिना पूरा, युक्रेनी राष्ट्रपति भन्छन्- स्वतन्त्रताविरुद्ध युद्ध छेडियो

काठमाडौं– निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन अपिल गरेका छन्। रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडेको बताएका छन्।

जेलेन्स्कीले सम्बोधनमा मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन आग्रह गरेका छन्। उनले भने, ‘तपाईंहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्। मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना एकत्रित हुनुस्।’

रुसको निर्मम र मुढे बललाई संसारले रोक्नुपर्ने उनले बताए। रुसले आक्रमण गरेको एक महिना बितिसकेको छ। यसबीच रुसी कदमले आफ्ना सबै युक्रेनी जनताका साथै यस धरतीका सबै स्वतन्त्र मानिसको मुटु ठेसलागेको उनले बताए।

बुधबार युक्रेनको राजधानी किएभका भूभागमा निरन्तर रुसी बमबारी भएका छन्। पश्चिमा विश्लेषकहरूले युक्रेनले प्रत्याक्रमण गरिरहेको र केही साना सहर पुनस् आफ्नो कब्जामा लिएको दाबी छन्।

राजधानी किएभस्थित बीबीसी संवाददाता लीज डुसेटले अतिक्रमण सुरु हुँदाताका पूर्णत: रक्षात्मक अवस्थामा रहेका युक्रेनीहरू अहिले ठाउँठाउँमा प्रत्याक्रमणमा उत्रिएको बताइन्।

‘क्राइमियाको सबभन्दा नजिक रहेको र रुसी कब्जामा गएको खेअरसन सहरलाई आफ्नो नियन्त्रणमा लिन युक्रेनीहरू प्रयत्नरत रहेका छन्,’ उनले भनिन्।

दक्षिणको अर्को सहर भोज्नेसेन्स्कमा स्थानीय नागरिक तथा युक्रेनी सेनाले रुसी ट्याङ्कको एक लहरलाई नै ध्वस्त पारेर सहरमा आक्रमण गर्न खोज्ने रुसी सेनालाई पछि हट्न बाध्य पारेका छन्। राजधानी किएभको पश्चिममा रहेको माकारिभ नगरमा फेरि युक्रेनी झन्डा फहराइएको बताइन्छ।

तर, दक्षिणी बन्दरगाह सहर मारिओपोलमा भने सहरको केन्द्रमै चर्को लडाइँ भइरहेका छन्। त्यहाँ रुसी बमबारी रोकिएको छैन। भूउपग्रहले खिचेका तस्बिरमा मारिओपोल सहरमा व्यापक क्षति पुगेको छ। र, आवासीय भवनहरूबाट धुवाँको मुस्लो निस्किरहेको देखिएको छ।

उत्तरतर्फ रुसले डेस्ना नदीमाथिको एक महत्त्वपूर्ण पुल ध्वस्त पार्दै चेर्निहिव सहर र राजधानीबीचको मुख्य सम्पर्क मार्ग विच्छेद गरिदिएको छ।

प्रतिक्रिया