राजधानी महानगरको मेयरका यस्ता छन् आकांक्षी

काठमाडौं । स्थानीय निकायको निर्वाचनको मिति नजिक आईरहँदा देशकै राजधानी काठमाडौं महानगरको मेयरको चेयर ताक्नेहरुको संख्या दिनदिनै थपिँदै गएको छ। स्थानीय निकायको नेतृत्वमा बसेर राजनीतिको जग बलियो बनाउन पाईने भएकाले नाम चलेकै नेताहरु समेत मेयरको उम्मेदवार बन्ने तयारीमा देखिन्छन्। 

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफू काठमाडौं महानगरको मेयर बन्न तयार रहेको भनेर प्रचार सुरु गरेपछि अरु पार्टीका आकांक्षी नेताको पनि चर्चा थपिएको छ। पूर्व पत्रकार रवीन्द्र मिश्रले आफू पनि महानगरको मेयर पदको दावेदार रहेको प्रचार सुरु गरेका छन्। काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको निर्वाचनमा भाग लिईसकेका मिश्रले महानगरको नेतृत्व ताकेपछि राजनीति तातेको छ।

नजिकिँदै गरेको स्थानीय निर्वाचनले देशभरीकै राजनीतिक संरचनालाई तरंगित पारेको छ।  यसले गर्दा विभिन्न दलहरुले नेताहरु उम्मेदवार हुने दौडमा सक्रिय देखिन्छन्।  पार्टीहरुले पनि उम्मेदवार छनोट गर्न आआफ्ना संगठन सञ्जाल सक्रिय तुल्याएका छन्।  

यस क्रममा देशको संघीय राजधानी तथा सबैभन्दा ठूलो शहर काठमाडौंको मेयरको उम्मेद्वारहरुको चर्चा अहिले अग्रपंक्तिमा छ ।  

महानगरका वर्तमान मेयर विद्यासुन्दर शाक्य फेरि पनि उम्मेद्वारको आकांक्षी देखिन्छन् । एमालेका उम्मेदवार रहेका शाक्यलाई दोहोर्याएर यो अवसर आउने सम्भावना भने कमजोर देखिन्छ। 

पूर्वमेयर केशव स्थापितलाई फेरि पनि एकपटक मेयरमा उठ्न दवाव दिनेहरुको कमी छैन। पार्टीले टिकट दिए स्थापितले त्यसलाई सहर्ष स्वीकार गर्ने जानकार सूत्रहरु बताउँछन् ।

सत्तारुढ दल नेपाली कांग्रेसमा समेत नगर प्रमुखको छनोटलाई लिएर सरगर्मी सुरु भएको छ । कांग्रेसमा पुराना नेता तीर्थराम डंगोल, भीमसेनदाश प्रधान आदिको नाम पनि मेयरको उम्मेद्वारका रुपमा चर्चामा छ। यो उनीहरुको इच्छाभन्दा वरिष्ठताका कारण भएको चर्चाजस्तो बुझिन्छ। तैपनि सिनियरलाई उठाउनुपर्ने परिस्थिति खडा भएको अवस्थामा यी निर्विकल्प नाम ठानिन्छन्।

यसैगरी वर्तमान उपमेयर हरि प्रभा खड्गी स्वभाविक रुपमा मेयरको आकांक्षी देखिएकी छन् भने कांग्रेस नगर सभापति एवं २५ नम्बर वडाका अध्यक्ष नीलकाजी शाक्य पनि मेयरको दाबेदार देखिन्छन्। एमालेका विद्यासुन्दर र रामवीर मानन्धरहरु चर्चामा रहँदा उनीहरुसँग प्रतिष्पर्धा गर्न सक्षम मानिने कांग्रेसका तर्फबाट वडाध्यक्ष भएका हरिश्चन्द्र श्रेष्ठ पनि टुकुचा पूर्व लोकप्रिय ठानिन्छन्। कांग्रेसभित्र उनी पनि बलियो उम्मेद्वारका रुपमा चर्चामा छन् ।

यसैगरी मेयरका पूर्व उम्मेद्वार राजुराज जोशी कांग्रेसका अर्का सम्भावित उम्मेद्वार देखिन्छन्। आकांक्षीहरु थुप्रै भए पनि कांग्रेसमा यिनैमध्ये कसैले टिकट पाउने बलियो सम्भावना देखिन्छ। यसमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेता प्रकाशमान सिंहको भूमिका निर्णायक रहनेछ।

काठमाडौंको कांग्रेस राजनीतिमा निर्णायक भूमिका रहने क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहको समर्थन पाउने नेता नै महानगरको मेयरको उम्मेदवार हुनसक्ने कांग्रेस वृत्तमा चर्चा छ।

प्रतिक्रिया