प्रथम बागमती प्रदेश खेलकुद शेखर र स्वागता पहिलो

काठमाडौं। चितवनका शेखर उप्रेती र भक्तपुरकी स्वागता खाइजु प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडमा मंगलबार पहिलो भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुरुषतर्फ शेखरले निर्धारित दूरी २३.६१ सेकेन्डमा पूरा गरे । मकवानपुरका सन्देश राई दोश्रो तथा सिन्धुलीका कर्णवीर अधिकारी तेश्रो भए । महिलामा स्वागताले २८.८९ सेकेन्डमा दूरी तय गरिन् । ललितपुरकी रजिना दलाल दोश्रो र भक्तपुरकी प्रकृति सुवाल तेश्रो भए ।

1स्वागताले त्रिपलजम्पमा पनि स्वर्ण जितिन् । स्वागताले ९।७६ मिटर हाम फालिन् । चितवनकी आशिका गुरुङले रजत तथा दोलखाकी पसलेकी शेर्पाले कांस्य हात पारे । सो स्पर्धाको पुरुषमा चितवनका भुवन महतो १३।३८ मिटरसाथ पहिलो भए । चितवनकै सुजित दराईं दोश्रो तथा रामेछापका मनोज श्रेष्ठ तेश्रो भए ।

पुरुष हाफ म्याराथनमा काठमाडौंका धर्म महर्जन पहिलो भए । उनले १ घण्टा २० मिनेट २० सेकेन्डको समय निकाले । धादिङका श्रीलाल तामाङ दोश्रो तथा धादिङकै आशिषकुमार तामाङ तेश्रो बने। उक्त स्पर्धाको महिलामा निर्धारित दूरी १ घण्टा ४८ मिनेट ४७ सेकेन्डमा सकाउदै धादिङकी लक्ष्मी थापाले शीर्ष स्थान कब्जा गरिन् । भक्तपुरकी रेस्टिना सितिखु दोश्रो तथा धादिङकी तिलमाया तामाङ तेश्रो बने ।

पुरुष डिस्कस थ्रोमा चितवनका जन्नुराम चौधरीले २८.७६ मिटर टाढा फाल्दै पहिलो स्थान हात पारे । चितवनकै दीपेश महतो दोश्रो तथा धादिङका राजेन्द्र लम्साल तेश्रो भए । त्यसै स्पर्धाको महिलामा १६.९७ मिटर टाढा फालेकी अनिता कार्कीले स्वर्ण चुमिन् । नुवाकोटकी रोजना राईले रजत तथा रामेछापकी पूजा तामाङले कांस्य जिते ।

पुरुष ४ गुणा ४ सय मिटर रिलेमा चितवन पहिलो, सिन्धुली दोश्रो र मकवानपुर तेश्रो भए । सोको महिलामा भक्तपुर, दोलखा र चितवनले क्रमशः शीर्ष तीन स्थान हात पारे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ८ खेल समावेश खेलकुदअन्तर्गत अब कराते, बक्सिङ र महिला फुटबलको प्रतिस्पर्धा मात्र बाँकी छ ।

प्रतिक्रिया