रुसी अदालतद्धारा फेसबुक र इन्स्टाग्राम उग्रवादी ठहर, दुवै प्रतिबन्ध

मस्को, एजेन्सी। रुसी अदालतले फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने कम्पनी मेटालाई उग्रवादी संस्था घोषित गर्दै यसको प्रयोगमा रोक लगाउने निर्णय गरेको छ। यही कम्पनीको हवाटस ऐपलाई भने प्रतिबन्धबाट बाहिर राखेको छ।

मस्कोको एउटा अदालतले फेसबुक र इन्स्टालाई प्रतिबन्ध गर्ने निर्णय गरेको हो। स्थानीय अधिकारीले मेटा कम्पनीको विरुद्ध उजुरी दर्ता गरेका थिए। अदालतमा दर्ता गरिएको रिटमा भनिएको थियो– फेसबुक र इन्स्टाले अतिवादी गतिविधिलाई प्रोत्साहित गरिरहेका छन्।

यसअघि नै रुसी जासुसी संस्था एफएसबीले भनेको थियो, दुवै माध्यमबाट रुस र उसको सेनाविरूद्ध मोर्चाबन्दी गरिरहेका थिए। यसैले यी सोसल साइटलाई तुरुन्त बन्द गर्नुपर्छ। यसैले अदालतको अहिलेको निर्णयलाई बुझन सकिन्छ।

अमेरिकीबाट सञ्चालन हुने मेटा कम्पनीले पनि यसअघि नै भनेको थियो, युक्रेनवासीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरूद्ध हिंसाको लागि उकास्ने सन्देश पोस्ट गर्न छुट छ। मेटा कम्पनीको यो बयान बाहिर आएपछि रुसको मिडियालाई नियन्त्रण गर्ने संस्थाले फेसबुक र इन्स्टालाई ‘ब्लक’ गरेको थियो। मेटाले यही महिनाको सुरुमा भनेको थियो, ‘रुसी आक्रमण मुर्दाबाद१’ जस्ता सन्देश हटाइने छैन। तर, सर्तको रूपमा यी पोस्टहरू युक्रेनबाट मात्र गर्नुपर्ने बताएको थियो।

मस्कोको त्वेरसकोए जिल्ला अदालतले भनेको छ, ‘यो निर्णय मेटाको मेसेञ्जर हवाटस ऐपमा लागु हुने छैन। किनभने सूचनालाई जनताबीच फैलाउने कुरामा फेसबुक र इन्स्टा जस्तो प्रभावकारी छैन।’ 

प्रतिक्रिया