अर्जेन्टिनाद्वारा कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित

लियोनल मेसीको टोली अर्जेन्टिनाले कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना ब्राजिलसँग गोलरहित बराबरीमा रोकिएपछि  विश्वकपका लागि अर्को खेलसम्म कुर्नुपर्ने स्थितिमा पुगेको थियो ।

तर आजै भएका अन्य छनोट खेलमा चिली र उरुग्वेले आआफ्नो खेल हारेपछि अर्जेन्टिना विश्वकपमा छनोट हुन सफल भएको हो । घरेलु मैदानमा भएको खेलमा  मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउने सुनौलो अवसर गुमाएका थिए ।

उनको सशक्त प्रहार ब्राजिलका गोलकिपर एलिसनले बचाए । ब्राजिल चोटग्रस्त नेइमार विना मैदान उत्रिएको थियो । बराबरीले निराश भएको अर्जेन्टिना उरुग्वे र चिलीको खेलपछि खुशी भयो । दश खेलाडीमा समेएिको चिलीलाई इक्वेडरले दुई शून्य गोलले हरायो ।

जितपछि इक्वेडरको पनि विश्वकप पुग्ने संभावना कायमै भएको छ । उरुग्वे बोलिभिया संग तीन शून्य गोलले स्तब्ध भयो । बोलभिया ७४ औं मिनेटमा दश खेलाडीमा झरेको थियो । तर लुइस स्वारेजको टोलीले त्यसको फाइदा लिन सकेन् ।  

दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपका लागि छनोट हुने अर्जेन्टिना दोस्रो टोली हो । यसअघि ब्राजिलले स्थान सुरक्षित गरिसकेको छ । शीर्ष स्थानको ब्राजिलको  १३ खेलबाट ३५  र दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको २९ अंक छ । जारी छनोटमा ब्राजिल र अर्जेन्टिना दुवै अपराजित छन् ।

दश टिम सहभागी दक्षिण अमेरिकी क्षेत्रको छनोटबाट  शीर्ष चारमा रहने देशले सिधै विश्वकपमा प्रवेश पाउनेछन् ।  पाँचौ हुनेले प्ले अफ खेल्नुपर्नेछ । तेस्रो स्थानमा इक्वेडर र चौथो स्थानमा कोलम्बिया छ । पांचौ स्थानमा पेरु छ ।  आज भएको खेलमा कोलम्बिया र पाराग्वेले गोलरहित बराबरी खेले । 

प्रतिक्रिया