पाकिस्तानमा इमरान सरकार संकटमा, चर्चामा नेपाल 

काठमाडौं । पाकिस्तानमा हिजोआज सत्तालाई लिएर इमरान सरकार र विपक्षी पार्टीबीच आरोप–प्रत्यारोपको शृंखला जारी छ । विपक्षी पार्टीहरूले प्रधानमन्त्री इमरान खानविरूद्ध हालै अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । जसमाथि २२ मार्चमा संसदमा चुनाव हुँदैछ। पाकिस्तानी पिपल्स पार्टी (पीपीपी) का सह–अध्यक्ष बिलावल भुट्टोको दावीलाई मान्ने हो भने, विपक्षी पार्टीसँग २ सय सांसदको समर्थन छ। जसको अर्थ हो, इमरान सरकारलाई सत्ताच्युत गराउन पर्याप्त अंक मानिन्छ । 

तर, यी सबै घटनाहरूका बीच नेपालको राजधानी काठमाडौं यतिबेला पाकिस्तानी मिडियाका लागि ‘हट–केक’ बनेको छ । इमरान सरकारका सूचना मन्त्री फवाद चौधरीले हालै मात्र पूर्वप्रधानमन्त्री नवाज शरीफ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पिट्ठू भएको आरोप लगाएपछि काठमाडौंको चर्चा चुलिएको हो ।

फवाद प्रधानमन्त्री इमरानको निकट मानिन्छन् भने उनले नवाजले काठमाडौंमा भारतीय प्रधानमन्त्री मोदीसँग एक घण्टा गोप्य बैठक गरेको आरोप लगाएका छन्। उनले भारतसँग नवाज निकै डराउने गरेको आरोप पनि लगाएका छन् ।

फवादले आरोप लगाएको घटना ८ वर्ष अगाडिको हो । सन् २०१४ मा काठमाडौंमा सार्क शिखर सम्मेलन हुँदा काठमाडौंको एउटा तारे होटलमा यी दुई नेताबीच गोप्य बैठक भएको थियो। त्यतिबेला नेपालमा प्रधानमन्त्री सुशील कोइराला थिए । 
पाकिस्तानमा यसअघि पनि नवाज र मोदीबीचको सम्बन्धलाई लिएर विभिन्न समाचार प्रकाशित भएका थिए। काठमाडौंमा दुई नेताबीच भएको गोप्य बैठकको आरोपको विषयमा न भारत सरकारले खण्डन गरेको छ, न नवाजको पार्टीले नै । 
नवाज प्रधानमन्त्री भएको बेला सन् २०१५ मा नातिनीको बिहेमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी एक्कासी इस्लामावाद पुगेका थिए। 

मोदी सन् २०१४ मै पहिलो पल्ट भारतको प्रधानमन्त्री नियुक्त भएका थिए। यही वर्ष काठमाडौंमा सार्क शिखर सम्मेलन भएको थियो। भारतका एक पत्रकारले आफ्नो किताबमा पनि दावी गरिसकेका छन् कि सार्क सम्मेलनमा नवाज र मोदीबीच एक घण्टा गोप्यवार्ता भएको थियो। बैठकको आयोजना भारतीय व्यापारी तथा पूर्वसांसदले गरेको बताइएको थियो। यस सम्बन्धमा २०१५ मा भारतीय विदेश मन्त्रालयका तत्कालीन प्रवक्ता विकास स्वरुपसँग पनि केही पत्रकारले प्रश्न गरेका थिए। तर, उनी यस विषयमा मौन रहे। 
 

प्रतिक्रिया