लघुवित्त वित्तीय संस्थाको जोखिमः कर्जामा ९७ प्रतिशत महिला

काठमाडौँ। लघुवित्त वित्तीय संस्थाबाट लघु कर्जा लिने ऋणीको संख्या बढ्दो छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्त वित्तीय संस्थाबाट लघु कर्जा लिने ऋणीको संख्या ३१ लाख ७० हजार ६ सय ३५ पुगेको छ। यो गत असारसम्मको तुलनामा करिब एक लाख बढी हो। गत असारसम्म ३० लाख ५६ हजार ६ सय ३१ घरपरिवारले लघु कर्जा लिएका थिए। 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्त वित्तीय संस्थाबाट लघु कर्जा लिने ऋणीमध्ये ९७.३८ प्रतिशत महिला र बाँकी पुरुष छन्। सो अवधिमा लघुवित्त वित्तीय संस्थामा ५६ लाख २८ हजार ८ सय ६५ सदस्य छन्। गत असारको तुलनामा यो करिब २ लाखले बढी हो। गत असारसम्ममा कुल सदस्य संख्या ५४ लाख ३ हजार मात्र थियो।

लघुवित्त विपन्न वर्ग एवम् ग्रामीण भेगका जनताका लक्षित संस्था हो। आँट र सीप भएर पनि पैसाको अभावमा उद्यम गर्न नसकेका व्यक्तिहरुलाई लघुवित्त वित्तीय संस्थाले कर्जा प्रदान गर्दछ। गरिबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न लघुवित्तको विकास भएको हो। यसरी स्थापित लघुवित्त वित्तीय संस्थाहरुको संख्या नेपालमा ९१ पुगेको छ। एउटै गाउँमा धेरै वटा लघुवित्त वित्तीय संस्था पुगेका छन्। जसको फाइदा उठाउँदै केही व्यक्तिहरुले कर्जाको दुरुपयोग गरेका कारण लघुवित्तको क्षेत्रको कर्जामा जोखिम बढ्दै गएको छ।

मर्जर तथा एक्विजिसनका कारण पछिल्ला महिनामा लघुवित्त वित्तीय संस्थाको संख्या घट्दो। तर, शाखा विस्तारको क्रम भने जारी नै रहेकाले वित्तीय पहुँच बढिरहेको राष्ट्र बैंकले जनाएको छ। विसं २०७८ असारसम्ममा ७० वटा लघुवित्त वित्तीय संस्था रहेकामा गत पुससम्ममा घटेर ६७ कायम भएको छ। तीमध्ये ४ वटा थोक कर्जा प्रदायक संस्था छन्। बाँकी ६३ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था छन्।

लघुवित्त वित्तीय संस्थाको शाखा संख्या २०७८ असारको तुलनामा गत पुससम्म ७.४४ प्रतिशतले बढेर ४ हजार ९ सय ६५ पुगेको छ। सो अवधिमा लघुवित्त वित्तीय संस्थाको केन्द्र संख्या ११.४३ प्रतिशतले वृद्धि भई ४ लाख ४ हजार, सदस्य संख्या ८.२९ प्रतिशतले वृद्धि भई ५६ लाख २२ हजार, ऋणी संख्या ५.९७ प्रतिशतले वृद्धि भई ३१ लाख ७१ हजार पुगेको बताइएको छ।
यसैगरी थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको कूल कर्जा तथा सापटी रकममा वृद्वि भएको छ भने निष्क्रिय कर्जाको अनुपातमा ह्रास आएको राष्ट्र बैंकले जनाएको छ।

सो अवधिमा लघुवित्त वित्तीय संस्थाको लगानीमा ह्रास आएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्त वित्तीय संस्थाको कूल लगानी ९ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। यो गत असारको तुलनामा ३२.६१ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल लगानी ७०.४० प्रतिशतले बढेको थियो। विशेषगरी मुद्धती निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएको कारण समग्र लगानीमा ह्रास आएको देखिन्छ।

एउटै व्यक्ति धेरै लघुवित्तको ऋणी

धितो विना नै सजिलै कर्जा पाइने भएपछि यसको दुरुपयोग गर्नेहरुको संख्या पनि बढ्दो छ। एउटा लघुवित्तबाट लिएको कर्जा चुकाउन अर्को लघुवित्तबाट कर्जा लिने गर्दा गर्दै एकै व्यक्तिले धेरै लघुवित्तबाट कर्जा लिएको पाइएको छ। यो प्रवृत्ति लघुवित्त क्षेत्रका लागि पक्कै पनि सुखद होइन। लघुवित्तले उद्यम गरेर आएको आम्दानीबाट चुक्ता गर्छ भन्ने विश्वासमा कर्जा दिएको हुन्छ। उद्यममा लगानी भएन भने ऋणीले उक्त कर्जा चुक्ता गर्न सक्दैन र अर्को लघुवित्तबाट कर्जा लिन्छ। फेरि त्यो लघुवित्तको कर्जा चुकाउन अर्कोबाट लिन्छ। श्रम नै नगरी पैसा पाउने भएपछि यो क्रम कहिल्यै रोकिँदैन। यस प्रवृत्तिले धेरै वटा लघुवित्तको कर्जा खेर जान्छ र उद्यमशीलता विकासमा काम आउँदैन।

कर्जा सूचनामा लघुवित्त पछाडि

लघुवित्तको कर्जाको दुरुपयोग हुनुको प्रमुख कारण भनेकै कर्जा सूचनाको व्यवस्थापन नहुनु हो। कुन लघुवित्तबाट कसले कर्जा लगेको छ भन्ने थाहा नहुने भएपछि जसले जुनबाट जति बेला पनि कर्जा लिन सक्छ। एउटा लघुवित्तबाट कर्जा लिने व्यक्तिले अर्कोमा कर्जा लिन गएको थाहा पाउनका लागि कर्जा सूचना केन्द्रको व्यवस्था गरिनुपर्छ। प्रवाह भएको कर्जा सही ठाउँमा प्रयोग भएको छ छैन भनी अनुगमन पनि गर्नुपर्छ। कर्जा फिर्ता आएको छँदैछ भनेर लघुवित्तहरु चुप बस्यो भने कर्जाको दुरुपयोग झन् बढ्छ। कर्जा लिन आउने व्यक्तिले यसअघि कतै कर्जा लिएो छ छैन भनी जाँचबुझ नगरी कर्जा प्रवाह गर्नुहुँदैन। लघुवित्तका ऋणीहरुको यस किसिमको जानकारीका लागि समन्वयन गर्न कर्जा सूचना केन्द्रको आवश्यकता देखिएको छ।

मर्जरपछि समस्या

अहिले लघुवित्तहरु धमाधम मर्जरमा गइरहेका छन्। मर्जरपछि यस्ता ऋणीहरुबाट ऋण असुली गर्न झन् समस्या हुने देखिन्छ। मर्जरपछि बन्ने संस्था ठूलो हुन्छ, शाखा धेरै हुन्छन् र ऋणीहरु पनि धेरै हुन्छन्। अध्ययन अनुगमन गर्ने क्षेत्रको विस्तार हुन्छ। जोखिममा रहेका कर्जाको हिस्सा बढ्दै जान्छ। त्यसैले, बैलैमा संयमता अपनाएर सदुपयोग हुने ग्यारेन्टी भएका व्यक्तिहरुलाई मात्रै कर्जा प्रदान गर्ने, ऋणीहरुका बारेमा जाँचबुझ गर्ने, कर्जाको सदुपयोगीताको बारेमा अनुगमन गर्ने र दुरुपयोग गर्नेलाई कारबाही गर्ने गर्नुपर्छ।

लघुवित्तबाट ऋण लिने ऋणीहरु कमजोर हुन्छन्। कृषिमा निर्भर भएका वा ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिहरु लघुवित्तका ग्राहक हुन्छन्। त्यसमाथि लघुवित्तले धितोबिना नै कर्जा दिने भएकाले जोखिम यसै पनि बढी हुन्छ। त्यसैले, यस विषयमा ध्यान दिनु आवश्यक छ। वास्तवमा नै उद्यम गर्ने हो भने एउटा लघुवित्तबाट लिएको कर्जा पर्याप्त हुन्छ। राम्रो काम गर्दै गयो भने व्यवसाय विस्तारका लागि सोही लघुवित्तबाट थप कर्जा पनि पाइन्छ। यसको मतलब धेरै वटा लघुवित्तबाट कर्जा लिने व्यक्तिले उद्यम गरेका हुँदैनन्। यस विषयमा बेलैमा सम्बन्धित पक्षहरुको ध्यानाकर्षण हुनु आवश्यक देखिन्छ।

प्रतिक्रिया