सन्दर्भ नारी दिवस

  पहिले मनुष्य बन नारी !

Binda Acharyaनारीले संसारको सवै स्थानमा समानरुपले मनुष्यको दर्जा पाउनु चुनौतीपूर्ण बनेको छ । आध्यात्मिक दृष्टिकोणमा यो विश्व व्रम्हाण्डको सिर्जना प्रकृति र पुरुषको संयोजनवाट भएको मानिन्छ, जसमा अहंकार प्रधान पुरुष शक्ति र भाव प्रधान नारी शक्तिको संयोजन, सहकार्य र सह–अस्तित्ववाट सृष्टिको सिर्जना, लय र विलय हुन्छ । प्रकृतिमा सिर्जना गर्न सक्ने शक्ति भएकोले यसलाई नारी शक्तिको रुपमा लिईन्छ । जव दुबै विश्व ब्रम्हाण्डको अपरिहार्य तत्व हुन् भने हरेक कुरामा नारी र पुरुष भनेर किन लिङ्ग छुट्याईरहनु पर्यो ?

नारी सत्ता वा पुरुष सत्ता कुन शक्तिशाली वा राम्रो भनेर किन तौलेर तर्क वितर्क गरिरहनु पर्यो ?  देवीशुक्तको तेस्रो श्लोकमा म शक्ति हूँ, विश्व ब्रम्हाण्ड की रानी हूँ, म शिवसँगै हुन्छु, भनिएको   छ । आदि परा दिब्यशक्तिमा महाकाली समयकी देवी, महासरस्वती ज्ञानकी देवी र महालक्ष्मी समृद्धिकी देवीलाई पूजा आराधना गरी सनातन देखि शक्ति आह्वान गरिँदै आएको पाईन्छ । गार्गी र मैत्रेयी वैदिककालका महान विद्वान नारी थिए । मैत्रेयी ऋषि याज्ञवल्क्यकी पत्नी थिईन्, जसले ऋग्वेदको दशवटा श्लोकको रचना गरेकी  थिईन् । ईशाकाल भन्दा सातसय वर्षपूर्व राजा जनकको दरवारमा शास्त्रमा वादविवाद गर्न निम्तो पाएकी गार्गीले विद्वान ऋषि याज्ञवल्क्यको ज्ञान परीक्षण गर्ने उत्कृष्ट प्रश्न गरेकी थिईन् । त्यो समयको जस्तै नारीको स्थान, गरिमा र श्रद्धा पुनः प्राप्त गर्नु र विश्वको हरेक कुनामा नारीलाई मनुष्यको रुपमा स्वीकार गरी सह–अस्तित्व कायम गर्नु साँच्चै नै चुनौतीपूर्ण बनेको छ । 

वैदिककालमा गार्गीको प्रश्नले राजर्षि जनकको सभा हल्लियो ! अहिले किन मञ्चमा समेत स्थान पाउन गारो छ ? महिला उद्यमी भेलामा मञ्चमा अगाडि स्थान ओगट्ने पुरुष महानुभावले महिला उद्यमीका प्रतिनिधित्व गर्दैनन् । लैङ्गिक सशक्तिकरण र मूल प्रवाहिकरणका कार्यक्रममा प्रायः महिलाहरु आफैं बोल्छन्, आक्रोश पोख्छन्, आफैं सुन्छन् तर त्यहाँ सुन्नु र सुनाउनु पर्ने वर्ग वा पदाधिकारी कोही हुँदैनन् । नेपालमा राजनीतिक पक्षवाट हेर्दा नारीको प्रतिनिधित्व उल्लेखनीय छ । जनताको आवाज मुखरित गर्ने ठाउँमा अहिलेसम्म कुनै नारी प्रतिनिधिले सभा हल्लाउने गरी प्रश्न गरेको सुनिएको छैन । 

सहानुभूतिपूर्वक कसैले मञ्चमा स्थान त देला तर श्रोता वा दर्शकको मनै हल्लिने गरी, सत्ताको कुर्सी डगमगाउने गरी ओजपूर्ण अभिब्यक्ति दिन सकिएको छ ? अवसर र मौकामा समानुभूतिको आवश्यकता पर्दछ, जो सम्मानजनक हुने गर्छ । विगत तीन दशकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्मको यात्रासम्म आईपुग्दा नेपालमा अधिकारमुखी चेतना सहित नारी सशक्तिकरणका सूचक बढेका छन् । नेपालले लैङ्गिक बिकासमा उल्लेखनीय सफलता पाएको भनेर अन्तर्राष्ट्रिय पुरस्कार समेत पायो । देशका राष्ट्र प्रमुख, व्यवस्थापिका प्रमुख, न्यायपालिका प्रमुख र प्रदेश प्रमुखको रुपमा नेपाली नारीशक्ति उच्च स्थानमा पुगेको हामीले देख्यौं, यो गौरव र खुशीको विषय हो । 

अवसर लिने वेलामा म पहिला; जिम्मेवारी लिने वेलामा म महिला भन्ने दुराशयवाट माथि उठी समय सान्दर्भिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विषयमा, राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाहरुमा, विश्व परिघटनामा चासो राख्नु जरुरी छ । नारी प्रति समाज अलि खुला र उदार भएर उनको क्षमता प्रस्फुटन हुने अवसरमा सहयोग गरेमा दैनिक चासो चियो चर्चामा बहुमूल्य समय वित्दैन थियो । समसामयिक विषयमा चासो राख्नु, उद्यमशिल क्रियाकलाप गर्नु, सामाजिक र आध्यात्मिक क्रियाकलापमा संलग्न रहनु, त्यसैमा चिन्तनमनन गर्नु साँच्चैको सशक्तिकरण तर्फको बाटोमा लाग्नु हो । नारीले आफूलाई चिन्नु कैयौं गुणा श्रेयस्कर छ ।

आधा आकाशको कुराले पुग्दैन आधा धरतीको कुरा गरौं न ! हो धरतीलाई आकाशले आड दिएको छ । नारीलाई कमजोर र कम बुद्धियुक्त प्राणीको रुपमा यही धरतीको अँध्यारा कुनाहरुमा अहिले पनि भेदभाव र शोषण गरिएको छ ।  अर्काेतिर कुनै उज्यालो सभ्य समाजमा नारीले परम स्वतन्त्रता र  उच्च सम्मानको उपभोग र अनुभूति गरिरहेकी छिन् । सभ्य र बिकसित समाजका नारी शक्तिले परिवार, देश, समाजका हरेक क्षेत्रमा देखिने गरी योगदान पुर्याएका छन् । नर र नारीको सहअस्तित्व र सहकार्यवाट प्राप्त सभ्यताको सुखभोग राष्ट्रका सबै नागरिकले गर्न पाउँदछन् । आकाशको हृदय अनन्त विशाल छ; आकाशले कुनै भेदभाव गरेको छैन,  नर– नारी दुबैलाई हामी सबैले एकअर्काको पर्याय जसरी आकाशले गरेको जस्तै व्यवहार गर्न हृदय फराकिलो बनाउँ न ।

न्यूनस्तरको चेतना भएको समाज र त्यहाँका संस्थाहरुमा नारीप्रतिको धारणा र सोचमा हेयपन हुनु नौलो कुरो होईन तर अन्य राजनीतिक परिवर्तन, सामाजिक संरचनामा सुधार, सूचना प्रविधिको बिकास र उपभोगका प्राप्त स्वतन्त्रताको अवस्थामा आईपुग्दा पनि नारी माथिको  श्रद्धा जाग्न नसक्नु र नियन्त्रण गर्न खोज्नु  बिकासको दृष्टिले दुर्भाग्य हो । समृद्धिको उडान भर्न महिला र पुरुष रुपि चराका पखेटा उत्तिकै फट्फटाउनु जरुरी छ । आर्थिक सशक्तिकरणको अभ्यासको परिणाम ५१ प्रतिशत नेपाली महिला धरती ओगटेका छन् ती मध्ये एक तिहाई महिलाको जमिनमा अधिकार   छ । त्यो पनि जमिनको स्वामित्व हस्तान्तरण गर्ने ठाउँमा पुगेपछि ल्याप्चे लगाउँदासम्म अधिकांश नेपाली नारीलाई थाहा हुँदैन की जमिन वेचेको हो की किनेको हो भनेर ।

नारीको आफ्नो क्षमता उजागर भएन र स्थान पाएन भने ती सपना योजना पुरा गराउन पती वा सन्तानलाई दवाव दिने गर्छन् । अपेक्षा, आशा र दवावमा आधारित सम्बन्धमा खुशी कम औपचारिकता ज्यादा  हुन्छ, सम्बन्ध यान्त्रिक बन्दछ । नारीले आफ्नो क्षमता र सम्भावना प्रस्फुटन गर्न स्वयं प्रयास गर्नु र यसमा अरुले मद्धत गर्न ढिला गर्नु भनेको सभ्य समुन्नत समाजवाट बञ्चित हुनु हो । भय र लोभ त्यागेमा परम स्वतन्त्रताको उपभोग गर्न पाउँछौः नारी । सफल ठानिएका महिलाका सफलताका कथा सुन्दा लाग्छ महिलाको सफलताको अगाडि उसलाई डोहोर्याउने  हिरो  र 

असफलताको पछाडि खुट्टा तान्ने भिलेन हुनैपर्छ । नारी आफ्नो एक्लो ईच्छा शक्तिले केही गर्नै सक्दिनन् । पुरुषको काँधमा टेकेर सफल भएको त देखिन्छ, एक दिन टेक्ने काँध पाईंदैन, अनी सफल ठानिएको नारीको रुवाबासी, दोषारोपण छताछुल्ल भएको हामीले देखेका छौं । नारीको आफ्नो क्षमता  र मेहनतमा आधारित सशक्तिकरण भएन भने जीवनमा धेरै हिरो र भिलेनहरुको जरुरत पर्छ । ती दुईको लडाईंमा नारीले पिल्सिरहनु पर्छ । यसरी हिंसा र दुःखपिडाको पृष्ठभूमिवाट आएर सफलता हासिल गरेका नारीमा वदलाको भावना  र आक्रोश पाईन्छ । नारीले पिताको, पतीको र पुत्रको आय वा सम्पत्तिको आश नगर्ने, भरमा नपर्ने र नलोभिने हो भने अस्तित्वको बोध सहितको संघर्ष शक्ति उजागर गर्न सक्ने छिन् ।
 
अन्याय, नियन्त्रण र थिचोमिचो सहनु पाप हो ! सहनशिल हुनु, असल हुनु राम्रो हो भने यति राम्रो कुरो नारी मात्रै किन हुनुपर्ने ? हामी सबै यस्तै यस्तै सद्गुणी भए परिवार र समाज असल संस्कारयुक्त हुन्छ । पुरुष चैं समाजका विकृति र विसंगतिमा रमाउने ! नारीले सबै सम्हाल्दिनु पर्ने ? अवगुणमा पुरुषको एकाधिकार गुणहरुमा नारीको एकाधिकार हो र ? नेपालमा लङ्गिक हिंसाका घटना विश्लेषण गर्दा नारीमाथिको अन्याय र अत्याचारले जंगली बर्बर युगको झल्को दिन्छ । जव नारीको अस्तित्वमै प्रश्न खडा हुन्छ तव पनि अन्याय सहेर सहनशील बन्नु भनेको सद्गुण होईन दुर्गुण हो । विश्वको आधा मूल शक्ति चेतनशील मनुष्यमाथि यस्तो राक्षसी, क्रुर व्यवहार हुनु  देशकै दुर्गुण र दुर्भाग्य हो । भारतीय संविधानविद् महान समाज सुधारक बाबासाहेव अम्बेडकरको भनाई छ– ‘अन्याय सहनु भनेको अन्याय गर्नु भन्दा पनि बढी अपराध हो किनभने अन्याय सहँदा परिवार र समाजमा यस्तो विश्वास स्थापित हुन्छ की यही नै सही तरिका हो यसै गर्नुपर्छ ।’ 

नारी आफ्नो चेतना जागृत गर, स्त्री शक्तिलाई माथि उठाउ, ढिला भईसक्यो पर्खेर नबस । अमेरिकाको वाशिङ्गटन विश्वविद्यालयका एक बैज्ञानिकले गरेको अनुसन्धानको नतिजा अनुसार महिलाको मष्तिष्क उनको उमेरसँगैको पुरुषको तुलनामा तीन बर्ष तरुनो हुन्छ, त्यसैले महिलाको दिमाग लामो समयससम्म पनि तेजिलो हुन्छ । महिलामा कुनै पनि शारीरिक, मानसिक योग्यताको कमी हुँदैन । केही तथ्याङ्कको सहारा लिँदा विश्वका सबैभन्दा शक्तिशाली लोकप्रिय आध्यात्मिक ब्यक्तित्वहरु मध्ये १५ जनामा ५ जना महिला छन् । विश्वकै सबैभन्दा धेरै धनराशी भएको, सबैभन्दा प्रतिष्ठित र सम्मानित नोवेल पुरस्कार पाउने महिलाहरु सन् २०२० सम्ममा ५८ जना छन् । नारी शक्ति सिर्जनशिलता र शान्तिको प्रतिमूर्ति हुन् भन्ने कुरा नोवेल पुरस्कार पाउने नारीहरुमा अधिकांशले साहित्य र शान्ति क्षेत्रमा पाएका थिए । 

विश्वका शक्तिशाली मानिसहरुको सूचिमा ७५ जना ब्यक्तिमा ५ जना महिला छन् । विश्वमा सन् २०२१ मा अर्वपतीको नारीको संख्या ३२८ जना पुगेको छ । विश्वमा राष्ट्र प्रमुख र सरकार प्रमुखमा २७ वटा देशमा महिला छन् र सन् १०५० देखि २०१९ जुलाई सम्ममा ७४ देशमा १४८ पटकसम्म नारीशक्ति राष्ट्र प्रमुख र  सरकार प्रमुख भैसकेका छन् । यस पृथ्वीमा सिर्जना भएका सर्बोपरी पद र प्रतिष्ठामा नारी शक्तिले  जिम्मेवारी बहन गरिसकेका छन् । अब पनि नारीले आफ्नो क्षमतामा आशंका गरेर बस्ने समय छैन, नारीले आफू स्त्रीशक्ति भएर जन्मिएकोमा धन्यभावले भरिनुपर्छ । आफूलाई शरीरको माध्यमवाट मात्र पहिचान खोज्नु भन्दा  त्यो भन्दा माथि उठेर प्रकृतिको उत्पतिको मूल उदेश्य अनुरुप नारीको अस्तित्व स्थापित गर्नुपर्दछ ।                

प्रतिक्रिया