हामीलाई निमिट्यान्न पार्ने दुई हप्तादेखिको षड्यन्त्र एकै चुट्कीमा समाप्तः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)मा भएको भ्रम चिरेर संसदबाट अनुमोदन गरेको बताएका छन् ।

एमसीसीको पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले राष्ट्रहितलाई तलमाथि हुन नदिइकन एमसीसी पारित गरेको बताएका हुन् ।

उनले अमेरिकी सेना नेपाल आउने, आईपीएसको अंग हुने कि नहुने, कुनै गठबन्धन, सुरक्षा रणनीतिमा सामेल हुने कुरामा स्वीकार गर्न नसकिने उल्लेख गरे । उनले भने,‘त्यही भ्रम व्याख्यात्मक टिप्पणीमा उल्लेख गरिएको छ । एमसीसीबारे पार्टीले स्पष्ट भएर अघि बढ्नुपर्छ भनेर निर्णय गरेको थियो । त्यसलाई प्रस्ट पार्नका लागि १२ बुँदे व्याख्यात्मक घोषणा आएको र त्यसमा विश्वास गर्ने आधार बनेको हो । अहिले जनता पनि प्रस्ट भएका छन् ।’

अध्यक्ष नेपालले प्रमुख विपक्षी एमालेले एमसीसीमाथि भ्रम चिर्ने कुनै काम नगरेको आरोपसमेत लगाए । अध्यक्ष नेपालले आफूहरुलाई निमिट्यान्न पार्ने षड्यन्त्र असफल बनाइसकेको पनि बताए । फागुन एक गते आफ्नो पार्टी समाप्त पार्ने तयारी भएको जानकारी आफूहरुसँग रहेको बताए ।

उनले भने,‘आफूहरूलाई निमिट्यान्न पार्ने दुई हप्तादेखिको षड्यन्त्र एकै मिनेटमा, एकै चुट्कीमा समाप्त भएको छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमा देशभक्तिको भावना नभएको आरोप लगाए । अध्यक्ष नेपालले ओली नेतृत्वकै सरकारका कारण एमसीसीबारे भ्रम फैलिएको बताए । उनले भने, ’एमसीसीबारे जे भ्रम सिर्जना भयो, त्यसको दोषी भनेको केपी ओलीको सरकार हो ।’

प्रतिक्रिया