'हामीसँग कांग्रेसले कुरा गरेपछि प्रचण्ड र माधवको सातो गयो'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी प्रचण्डका कारण अहिलेसम्म संसदमा रोकिएको आरोप लगाएका छन् । शनिबार प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमसीसी आफूले जस लिनका लागि प्रचण्डले रोकेको आरोप लगाएका हुन् ।

उनले प्रचण्डले जुन सभामुख आएपनि त्यसलाई रोक्न लगाएर एमसीसीलाई गिजोल्ने काम गरेको बताए । उनले एमालेसँग प्रधानमन्त्रीले छलफल अघि बढाएपछि प्रचण्ड र माधव नेपालको सातो गएको बताए ।

उनले भने,‘हामीसँग कांग्रेसले कुरा गरेको थाहा पाएपछि उनीहरुको सातो गएछ । हिजो प्रचण्ड र माधवले प्रधानमन्त्रीलाई एमसीसी पास गर्छौं गठबन्धन नटुटाउनुस् भनेछन् ।’

उनले एमालेले राष्ट्रिय हित, जनताको हित र अन्तर्राष्ट्रिय सम्बन्ध तमाम कुरा हेरेर उचित जे हुन्छ त्यही निर्णय गर्ने बताए । उनले आफूहरुलाई सत्ता गठबन्धनले संसदमा सहभागी हुन नदिएको आरोप लगाए ।

उनले भने,‘हामीले निकालेका सांसद राखेर सभामुखले संसद चलाएका छन् । मिलेन यो । हामी संसदको प्रक्रियामा सहभागी हुन पाएका छैनौं । हामी संसदमा राय व्यक्त गर्न चाहन्छौं । गठबन्धनले हामीलाई संसदमा सहभागी हुन नदिने भएपछि कसरी पास फेलको कुरा हुन्छ । हामीलाई संसदबाट अलग राख्ने षड्यन्त्र भइरहेको छ ।’

प्रतिक्रिया