प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं । सरकारको आग्रहमा प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । सूचना टाँसेर बैठक स्थगित गरिएको हो । कानुन मन्त्री दिलेन्द्र बडुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक सार्न आग्रह गरेका थिए ।

गत आइतबार संसदमा पेश भएको एमसीसीसम्बन्धी सम्झौतामाथि बिहीबारको संसदमा छलफल हुने कार्यतालिका थियो। तर प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा हिजो पनि अन्तिम समयमा संसद स्थगित गरिएको थियो ।

आज दिउँसो १ बजेका लागि तय गरिएको संसद बैठक सरकारकै आग्रहमा स्थगित भएको छ । दलहरुबीच एमसीसीलाई लिएर तानातान बढिरहेका बेला संसद बैठक सरेको हो । अमेरिकाले आगामी सोमबारसम्ममा एमसीसीसम्बन्धी सम्झौता पास भइसक्नुपर्ने समयसीमा दिएको छ ।

सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने बताएपछि प्रधानमन्त्रीले नेकपा एमालेसँग गठबन्धन गर्ने कोसिस गरिरहेका छन् । त्यसैका लागि सरकारले संसद बैठक स्थगित गरिरहेको छ । 

प्रतिक्रिया