सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठकले सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबार बसेको बैठकले पाँच दलीय गठबन्धनमा सामेल सबैलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ ।

बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा भएकामा त्यसको स्वागत गर्दै मिति तोक्न सरकारलाई सुझाव दिएकोमा गठबन्धनमा सामेल राजनीतिक दलका साथै सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ ।

आगामी वर्ष निर्वाचन वर्ष भएकाले स्थानीय तहको निर्वाचनदेखि नै पार्टीलाई विजयी गराउन सम्पूर्ण नेता, कार्यकर्तालाई क्रियाशील हुन बैठकले आह्वान गरेको छ ।

पार्टीका महासचिव डा बेदुराम भुसालले बैठकपछि जारी गरेको विज्ञप्तिमा लोकतन्त्रको उच्चतम प्रयोग निर्वाचन भएको र निर्वाचनका माध्यमबाट सर्वोत्कृष्ट हुन नेता तथा कार्यकर्ताले सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्नेमा जोड दिइएको छ ।“गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको शक्ति सम्पूर्णरूपमा निर्वाचनमा केन्द्रित हुन जरुरी छ”, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया