एमसीसी पत्रः प्रचण्ड चेपुवामा, गठबन्धन संकटमा 

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने भाका नजिकै आएको बेला सत्ता गठबन्धनका मुख्य नेताले पठाएको लिखित पत्र सार्वजनिक भएपछि राजनीति तातेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त हस्ताक्षर गरेर गत सेप्टेम्बर २९ मा वासिङटन डिसीस्थित एमसीसी बोर्डलाई पठाएको पत्र सार्वजनिक भएपछि हिउँदे वर्षाले कठाङ्ग्रिएको मौसममा राजनीति भने तातेको हो । पत्रले एमसीसीबारेको दोहोरो मापदण्डमा रहेका नेता र तिनको राजनीतिक दलप्रति जनमानसमा तिखो प्रतिक्रिया पनि जन्माएको छ । यतिबेला सत्ता गठबन्धनको भविष्यबारे पनि प्रश्न गर्न थालिएको छ । 

दुई नेताको संयुक्त हस्ताक्षर रहेको पत्र सार्वजनिक भएपछि उत्पन्न विवादकै वीच प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पसेका छन् । प्रधानमन्त्री पदबाट हटेपछि ओलीको यो पहिलो बालुवाटार प्रवेश हो । प्रधानमन्त्री देउवा र ओलीको भेटवार्ताले सत्ता गठबन्धन नै भंग हुनसक्ने आँकलन गरिएको छ । गठबन्धनका एक मुख्य नेता प्रचण्डलाई देउवा र ओलीको भेटले तनावमा पारेको छ भने यो अस्वाभाविक होईन ।

एमसीसीबारेमा भाका राखिएको पत्रमा प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष   प्रचण्डले संसदबाट एमसीसी पारित गराउने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका थिए । उनीहरुले संयुक्त हस्ताक्षर गरेर सेप्टेम्बर २९ मा वासिङटन डिसीस्थित एमसीसी बोर्डलाई पत्र पठाएका थिए ।

गोप्य पत्र सार्वजनिक भएसँगै एसमीसी पारित गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत सहमत भएको पुष्टि भएको छ । उनले संशोधन नभई एमसीसी पास गर्न नसकिने अभव्यिक्ति दिँदै आएका थिए । प्रधानमन्त्री देउवाले गठबन्धन बैठकमा संसदबाट एमसीसी पारित गर्ने प्रस्ताव गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र प्रचण्डले संशोधन नगरी एमसीसी पास गर्न नसकिने अडान दोहोर्याउँदै आएका थिए । 

यही विवादका वीच बसेको सर्वदलीय बैठकले नेकपा एकीकृत समाजवादीका झलनाथ खनालको संयोजकत्वमा एमसीसी सम्झौता अध्ययन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले कुनै ठोस काम गरेर सुझाव दिन सकेको छैन ।

एमसीसी पारित गर्ने प्रतिबद्धतासहितको पत्र सार्वजनिक भएपछि अध्यक्ष प्रचण्ड सबैभन्दा बढी नैतिक संकटमा परेका छन् । उनी यसरी राजनीतिक र नैतिक चेपुवामा परेका बेला एमाले अध्यक्ष ओली र प्रधानमन्त्री देउवा छलफलमा जुटेका छन् । प्रधानमन्त्री देउवाले गत कात्तिक १८ गते स्कटल्यान्डबाट स्वदेश फर्किने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा एमसीसी पारित गर्ने प्रतिबद्धतासहित आफू र एकीकृत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त हस्ताक्षर गरी एमसीसी बोर्डलाई पत्र पठाएको खुलासा गरेका थिए । त्यही बेला प्रचण्डले प्रधानमन्त्री देउवाको भनाइको खण्डन गरेका थिए । तर अहिले आएर पत्र नै सार्वजनिक भएपछि उनी उम्किन नसक्ने गरी चेपुवामा परेका छन् ।

यता माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भने अहिले पनि यथास्थितिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्ने अडान लिईरहेका छन् । 

पार्टी अध्यक्ष प्रचण्डले पाँच महिनाभित्र संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता एमसीसीलाई लेखेको सार्वजनिक भएकै दिन नेता श्रेष्ठले यथास्थितिमा संसद्बाट एमसीसी स्वीकार नगर्ने घोषणा गरेका हुन् ।

‘प्रम देउवा र अध्यक्ष क.प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ । पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गरिने छैन,’ उनले आइतबार ट्विट गरेका छन् ।

अध्यक्ष प्रचण्डले आफू नैतिक संकटमा परेपछि पार्टीका अरु नेतालाई अघि सारेर एमसीसी विरोधी देखाउन कसरत गरिरहेको बुझ्न सकिन्छ ।
 

प्रतिक्रिया