प्यूठानको ओखरपाटामा जन्ती बोकेको जिप दुर्घटना, सात जनाको मृत्यु

प्यूठान ।  प्यूठानको ओखरपाटामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र २ पुरुष रहेका छन् । त्यसैगरी बेहुलासहित अन्य ६ जना घाइते भएका छन् ।

घाइतेहरुको प्यूठान जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार मृतक कसैको पनि पहिचान हुन सकेको छैन ।

जिल्लाको नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार सडकमा पहिरो गएका कारण जिप दुर्घटनामा परेको हो । जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ। घटनाको थप विवरण आउन बाँकी छ।
 

प्रतिक्रिया