एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध रुपमा ल्याएको सुनसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले संयुक्त अरब इमिरेट्सबाट आएका गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनीलकुमार साह‚ मनहरी–७ मकवानपुरका नवराज परियार र भोटेकोसी–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पाको साथबाट १ केजी १ सय ५५ ग्राम सुन बरामद गरेको हो ।

शेर्पाले मलद्वारमा सुन लुकाएर ल्याएका थिए । उनीहरूको साथबाट ४ थान आइफोन पनि बरामद भएको प्रहरीले जनाएको छ । बरामद सुन र आइफोनको मूल्य करिब एक करोड रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ ।

त्यस्तै प्रहरीले साहको साथबाट ६ लाख ४० हजार मूल्य बराबरका ४ थान आइफोन, ३ लाख ८५ हजार २ सय २५ रुपैयाँ बराबरका बेरुवा औंठी र सिक्री बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया