न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठन गर्न विवेकशील साझाको माग

काठमाडौँ । विवेकशील साझा पार्टीले न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठनको माग गरेको छ । शुक्रबार पार्टी प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गरी न्यायपालिकाको समस्याको स्थायी समाधान खोज्न संसद् र सरकारको सिफारिसमा राष्ट्रपतिबाट ’न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठनका लागि माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘एक जना पात्रलाई पदबाट हटाएर मात्र न्यायपालिकाको अहिलेको समस्यामा ठोस सुधार आउने छैन, तर त्यो सुधारको प्रस्थानविन्दु भने बन्न सक्छ। अतः समस्याको स्थायी समाधान खोज्न संसद् र सरकारको सिफारिसमा राष्ट्रपतिबाट ‘न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठनका लागि विवेकशील साझा पार्टी जोडदार माग गर्दछ।’

सबै सहकर्मी न्यायाधीशको समेत विश्वास गुमाइसकेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायालयको साख थप गिर्न नदिन पदबाट राजीनामा गर्नु नै उचित हुने ठहर गर्दै विवेकशील साझाले राणाले कुनै निकास नदिए संसद्मा रहेका दलहरूले उनीविरुद्ध अविलम्ब महाभियोगको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धन सरकारले संसद्को चालू अधिवेशन नै केही दिनअघि हठात् अन्त्य गरेर राणालाई महाभियोग प्रस्तावबाट जोगाउन खोजेको आम आशङ्कामा बल पुरÞ्याएको छ। न्यायालयमा विकृति भित्राउनेदेखि मलजलसम्मका मुख्य जिम्मेवार राजनीतिक दलहरू अझै पनि समस्याको निकासका लागि गम्भीर नहुनु विडम्बनापूर्ण र खेदजनक छ।’

प्रतिक्रिया