सामाजिक सुरक्षा भत्ताबापतको ५३ लाख हिनामिना गर्ने तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर दुईमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ताबापतको ५३ लाख रकम हराएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडासचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले शुक्रबार विशेष अदालतमा वडासचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुसँग ५३ लाख बिगो असुलउपर र सजायको माग गरिएको अख्तियारले जनाएको छ । पञ्चकन्या–२ को वडा कार्यालयबाट २४ चैत २०७७ मा रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम शंकास्पद रुपमा हराएको थियो ।

त्यसदिन वडा सचिव राउत र कार्यालय सहायक रामकुमार गिरीले रकम बैंकबाट लिएर आएको र कार्यालय सहयोगी मिश्रको रोहवरमा रकम राखिएको थियो । दराजको सेफको साँचो राउत र गिरीसँग मात्र थियो ।

ढोकाको साँचो भने मिश्रसँग थियो । तर, रकम चोरिएको भनिए पछि साँचो लगाएको ठाउँमा तोडफोड भएको नदेखिएको अख्तियारले जनाएको छ ।

घटनाबारे सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरेको देखिएको अख्तियारले उल्लेख गरेको छ । सरकारको सम्पत्तिको बदनियत गरी हानि नोक्सानी गरेकोले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया