भिजिट भिसाको दुरुपयोग नगर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दुरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गरेका छन् । गृहमन्त्री खाँणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दूरुपयोग गरेर पनि नेपाली नागरिकहरुले तेस्रो मुलुकमा पीडा भोग्नु परेको उल्लेख गर्दै त्यसको दुरुपयोग नगर्न आग्रह गरेका हुन् ।

त्यस अवसरमा उनले भिजिट भिसामा गएर त्यसको दुरुपयोग गर्नेहरुमाथि कडा निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिए । गृहमन्त्री खाँणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न सचेत गराए ।

गृहमन्त्री खाँणले कोभिड संकटको चपेटामा परेका आफ्ना नागरिकहरुलाई विदेशी भूमिमा काम गर्ने क्रममा समस्या नआओस् भन्नेमा सरकार गम्भीर रहेको बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीहरुमाथि बिचौलियाहरुले ठगी गरेको उल्लेख गर्दै कारबाहीका लागि अनुसन्धान गर्न छुट्टै प्रहरी युनिट परिचालन गर्ने व्यवस्था गर्न गृहमन्त्री खाँणसँग आग्रह गरे । उनले यूएईमा घरेलु कामदार महिलाहरुको समस्या ठूलो रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि गृह मन्त्रालयको सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया