दक्षिण अफ्रिकाको  चिडियाखानामा रहेका सिंह र प्युमामा कोभिड संक्रमण पुष्टि

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र प्युमामा कोरोनाभाइरस पुष्टि भएको छ । अध्ययनपछि प्रीटोरिया विश्वविद्यालयका वैज्ञानिकहरूले तिनको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने बताएका छन् ।

वैज्ञानिकहरूले यदि भाइरस जनावरमा फैलिरह्यो अनि मानिसमा सर्यो भने नयाँ भेरियन्ट उत्पत्ति हुन सक्ने खतरा औँल्याउँदै सचेत गराएका छन् ।

चिडियाखानाका ती जीवजन्तु मानिसमा कोभिड हुने बेलामा देखापर्ने जस्तै लक्षणसहित बिरामी परेका थिए । उनीहरूलाई श्वास फेर्न गाह्रो भएको, नाकबाट सिँगान बगेको र सुक्खा खोकी लागेको पाइएको थियो ।

प्युमा बिरालो परिवारको एक प्रजाति हो । अनुसन्धानकर्ताहरूले चिडियाखानामा जनावरको रेखदेख गर्ने कर्मचारीहरूमा कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको तर उनीहरूमा लक्षण भने नदेखिएको पाएका थिए ।

वैज्ञानिकहरूले जनावरको रेखदेख गर्दा पनि मास्क लगाउन र अन्य सुरक्षाका उपाय अपनाउन सुझाव दिएका छन् । यो अनुसन्धान समकक्षीहरूले समीक्षा गरेर प्रकाशित हुने जर्नल भाइरसेसमा प्रकाशित भएको छ । 

प्रतिक्रिया