वैशाखमा निर्वाचन गर्नेमा सत्ता गठबन्धनका नेताहरु सहमत

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनका वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेमा सहमत देखिएका छन् । सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलका नेताहरु वैशाखमा निर्वाचन गर्नेमा सहमत देखिएका हुन् ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको जानकारी दिए । उनले यस विषयमा थप गृहकार्य गरी बिहीबार फेरि बैठक बस्ने र त्यो बैठकले निर्णय गर्ने बताए । निर्वाचनसँग जोडिएका विषयमा छलफल केन्द्रित रहेको नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले जानकारी दिए ।

बैठकमा नेताहरुले संविधान र कानूनले गरेको व्यवस्थाअन्तर्गत नै रहेर स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने सुझाव दिएको जानकारी दिँदै उनले कोभिड–१९ को चुनौतीको कसरी सामना गर्ने भन्ने विषयमा पनि छलफल भएको बताए । यस बारेमा सत्तारुढ पाँच दलले आ–आफ्नो दलभित्र थप छलफल गर्ने र शीर्ष नेताहरुले एक/दुुई दिनमा टुङ्गो लगाउने सहमति भएको नेता गुरुङले बताए ।

आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठक अघि समन्वय समितिको बैठक बसेर मिति तोक्न सिफारिस गर्ने र मन्त्रिपरिषदको बैठकले मिति तोक्ने सम्भावना रहेको बताइएको छ ।

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई यसअघि नै दिइसकेको छ । स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि आगामी जेठ ५ गते सकिँदैछ ।

सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन् । साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य छन् ।


 

प्रतिक्रिया