'सरकार ललिता निवास प्रकरणका दोषीलाई उम्काउने प्रपञ्चमा'

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले स्थानीय तहको निर्वाचन पन्छाउन खोजेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कारमा उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचनको सम्बन्धमा निर्वाचन आयोगले गरेको सिफारिस अनुसार सरकारले कुनै निर्णय नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले सरकारले स्थानीय तहको निर्वाचनलाई पन्छाउन खोजेको आशंका पैदा भएको भन्दै एमालेले त्यस्तो हुन नदिने बताए । समयमा नै स्थानीय तहको निर्वाचन हुनुपर्ने उनको भनाई छ ।

उनले भने,‘चुनावको विकल्प छैन । सामान्यतया निर्वाचन आयोगलाई १२० दिन चाहिन्छ चुनावको तयारीका लागि, अहिलेसम्म सरकारले निर्वाचन आयोगको सिफारिस अनुसार कुनै निर्णय गरेको छैन । के सरकार स्थानीय तहको चुनावलाई पन्छाउन खोजेको हो ? फेरि ५९ साल फर्काउन खोजेको हो कि गम्भीर आशंका पैदा भएका छन् ।’

उनले ललिता निवास प्रकरणको कारबाही अन्तिम बिन्दुमा पुग्न लाग्दा सरकारी वकिलको कारण भ्रष्टाचारीहरुलाई राहत मिलेको बताए । उनले सरकारी वकिललाई भ्रष्टाचारको लाइसेन्स नदिएको भन्दै कडा आपत्ति जनाए । उनले कुनैपनि हालतमा आफूहरुले २ वर्षको प्रयासबाट भएको अनुसन्धानलाई दबाएर भ्रष्टाचारीलाई उम्कन दिने प्रपञ्चलाई सफल हुन नदिने जिकिर गरे ।

उनले भने, ‘सिआइबिले २ वर्ष लगाएर दोषीहरुको लिष्ट बनायो । तर अचानक सरकारी वकिलको एउटा निर्णयले दुई वर्षदेखि प्रहरीले गरेको सारा मेहनतलाई पानी खन्याउने काम भएको छ । यो ढंगले दुरुपयोग गर्न मिल्दैन । हामी यो कुरालाई लिएर सशक्त दबाब सिर्जना गर्न चाहन्छौँ ।’

लिपुलेक, लिपियाधुरा, कालापानी जस्ता नेपाली भूभागहरु वार्ता गरेर नेपालको भोगचलनमा ल्याउन पर्ने भन्दै उनले त्यहाँ भइरहेका गतिविधि रोक्न सरकारले सामान्य पत्राचार गर्न नसकेको बताए । उनले भने,‘नेपाली लागि नभई बाहिरी मुलुकको लागि कन्र्फटेबल बनाउन खोज्नु भएको रहेछ भनेर अहिले प्रमाणित भयो ।’

जयसिंह धामी बेपत्ता हुँदा, नेपाली भुभागमाथि अवैध ड्रोन उडाउँदा, संरचनाहरु एकतर्फीरुपबाट निर्माण हुँदा बोल्न नसक्दा सरकार गैरजिम्मेवार ढंगले अगाडि बढिरहेको भन्दै त्यसप्रति आपत्ति जनाए । सरकारले सीमाबारे दृढतापुर्वक भारतसँग कुरा गर्नपर्नेमा जोड दिए । उनले संसद सुचारु गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचमा सकारात्मक छलफल भएको भन्दै आगामी दिनमा समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया