वासिङ्टन। वासिङ्टनको एउटा बलरुममा राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा आयोजित शनिबार रातिको एउटा भव्य कार्यक्रम तब भयावह बन्यो, जब गोलीको आवाजले पाहुनाहरूलाई भुइँमा सुत्न बाध्य पार्यो र अमेरिकी नेतालाई सुरक्षाकर्मीहरूले घेरेर बाहिर निकाले।
ट्रम्प 'ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसन'को वार्षिक रात्रिभोजमा मञ्चमा आसिन थिए, राष्ट्रपतिका रूपमा उनी पहिलो पटक यो कार्यक्रममा सहभागी भएका थिए। अचानक ठूलो आवाज आएपछि उत्सवको माहोल बिग्रियो र उनी लगायत मञ्चमा रहेका अन्य व्यक्तिहरू त्रसित हुँदै हेर्न थाले।
कार्यक्रममा सहभागी पत्रकारहरूले त्यहाँ अस्तव्यस्त दृश्यहरू देखेका थिए। गोली चलेको जस्तो आवाज आएको केही क्षणमै 'तल बस्नुहोस्' र 'भुइँमा सुत्नुहोस्' भन्ने चिच्याहटहरू सुनिए। ब्ल्याक-टाई र गाउनमा सजिएका पाहुनाहरू, जसमा पत्रकारहरू, ट्रम्प प्रशासनका अधिकारीहरू र केही क्याबिनेट सदस्यहरू थिए- ज्यान जोगाउन ओत लागे।
मञ्चबाटै ट्रम्पको उद्धार
यस भागदौडका बीच, राष्ट्रपति र प्रथम महिला मेलानिया ट्रम्पलाई अमेरिकी सेक्रेट सर्भिसका एजेन्टहरूले हतियारसहित तुरुन्तै घेरे। भीड स्तब्ध भइरहेका बेला उनीहरूले ट्रम्पलाई हतार-हतार मञ्चबाट पछाडिको पर्दा हुँदै बाहिर लगे।
पछि ट्रम्पले भने, 'सुरुमा मलाई कुनै ट्रे खसेको जस्तो लागेको थियो, तर पछि मात्र त्यो गोली भएको थाहा पाएँ। मलाई आशा थियो कि त्यो ट्रे नै होस्, तर त्यस्तो थिएन।'
'टेबलमुनि लुके'
ठूलो ब्यान्डको संगीत अचानक रोकियो र केही सेकेन्डका लागि पाहुनाहरूमाझ सन्नाटा छायो। वासिङ्टन हिल्टनको विशाल बलरुममा प्लेटहरू भुइँमा बजारिँदा एजेन्टहरू टेबलहरूका वरिपरि तैनाथ भए। यो त्यही होटल हो जहाँ ४५ वर्षअघि राष्ट्रपति रोनाल्ड रेगनमाथि हत्याको प्रयास भएको थियो।
सुरक्षाकर्मीहरूले सुरक्षित स्थानतर्फ लैजाँदै गर्दा 'सेन्टर्स फर मेडिकेयर एन्ड मेडिकेड सर्भिसेसुका प्रशासक मेहमेट ओजले एएफपीका पत्रकारहरूलाई भने, 'माथिल्लो तलामा गोली चलेको छ।' यस्तै, स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरलाई पनि बलरुमबाट हतारमा बाहिर निकालिएको देखियो— जसका बुबा रोबर्ट एफ। केनेडी र काका राष्ट्रपति जोन एफ. केनेडीको १९६० को दशकमा हत्या भएको थियो।
'वान अमेरिका न्यूज'की संवाददाता अलेक्जान्ड्रा इन्गरसोलले एएफपीलाई बताइन्, कोलाहल सुरु हुँदा उनी भित्रै थिइन् र सेक्रेट सर्भिसले राष्ट्रपतिको सुरक्षाका लागि तुरुन्तै कदम चालेको देखिन्। 'म सिधै टेबलमुनि छिरेँ, म कुनै जोखिम लिन चाहन्नथेँ। बन्दुकधारीलाई नियन्त्रणमा लिइयो कि लिइएन भन्ने मलाई थाहा थिएन,' उनले भनिन्।
ट्रम्पले पछि सञ्चारकर्मीहरूलाई बताएअनुसार एक बन्दुकधारी, जसलाई उनले 'लोन वुल्फ' (एक्लै आक्रमण गर्ने) र 'पागल' को संज्ञा दिए, बलरुम बाहिरको सुरक्षा जाँच तोडेर भित्र छिरेका थिए।
'हामी फेरि यो कार्यक्रम गर्नेछौ'
पूरै कोठा खाली गर्न आदेश दिइयो र सयौँ पाहुनाहरू हिल्टनको लबी हुँदै चिसो मौसममा बाहिर निस्किए। पाहुनाहरू एकअर्कालाई अँगालो मारिरहेका, फोन गरिरहेका र आफ्ना परिवार तथा समाचार एजेन्सीहरूलाई सन्देश पठाइरहेका देखिन्थे।
राति ८:४० बजे ट्रम्पको मोटरगेड हिल्टनबाट निस्किएर ह्वाइट हाउसतर्फ लाग्यो। लगत्तै संवाददाताहरू हतार-हतार राष्ट्रपतिको प्रेस सम्मेलनका लागि ह्वाइट हाउस पुगे।
ट्रम्प अझै पनि औपचारिक पोशाक (ब्ल्याक-टाई) मै थिए। उनी मेलानिया ट्रम्प, उप-राष्ट्रपति जेडी भान्स, एफबीआई प्रमुख काश पटेल र अन्य उच्च अधिकारीहरूसहित ह्वाइट हाउसको ब्रिफिङ रुममा देखा परे।
'म त्यहाँ बस्नका लागि निकै लडेँ,' ट्रम्पले भने, 'तर सेक्रेट सर्भिसले म निस्कनै पर्ने बतायो।' ट्रम्प यसअघि सन् २०२४ मा पेन्सिलभेनियाको बटलरमा भएको र्यालीमा पनि हत्याको प्रयासबाट जोगिएका थिए।
उनले यो कार्यक्रम पुनः आयोजना गरिने बताए। ट्रम्पले भने, 'हामी यो फेरि गर्नेछौँ। हामी कसैलाई पनि हाम्रो समाजमाथि कब्जा जमाउन दिने छैनौँ।' एएफपी
प्रतिक्रिया