सम्पादकीय

सिंहदरबारमा नयाँ लय र पुरानो भय

नेपाली राजनीतिको मक्किएको ढोकामा दशकौँदेखि एउटै पात्र र प्रवृत्तिले रजाइँ गरिरहेको दृश्यमा अन्ततः पूर्णविराम लागेको छ। २०८२ फागुन २१ को निर्वाचन परिणाम र त्यसपछिको सत्ता हस्तान्तरण सामान्य प्रक्रिया मात्र होइन, यो नेपाली मतदाताले परम्परागत राजनीतिको 'सिन्डिकेट' विरुद्ध गरेको एउटा मौन तर सशक्त विद्रोह हो।

बालेन शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको भारी बहुमत र पुराना हस्तीहरूको लज्जास्पद हारले एउटा स्पष्ट सन्देश दिएको छ- जनता अब आश्वासनको खेती होइन,परिणामको बाली चाहन्छन्।

सरकार गठनको २४ घण्टा नबित्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीले सिंहदरबारमा नयाँ हावा चल्न थालेको संकेत गरेको छ। गत भदौको 'जेन-जी' विद्रोहमा भएको दमन र भ्रष्टाचारका फाइलहरू अब केवल दराजमा थन्किने वस्तु रहने छैनन् भन्ने विश्वास पलाएको छ। तर, यो कदम न्यायको शुद्ध प्यास हो कि राजनीतिक प्रतिशोधको नयाँ अध्याय? यसको जवाफ नयाँ सरकारले गर्ने अदालती प्रक्रियाको पारदर्शिताले दिनेछ। न्यायिक निरुपणका सिलसिला सुरु हुन बाँकी नै छन्। 

नयाँ प्रधानमन्त्रीका लागि चुनावी जित जति सहज थियो, शासन सञ्चालन त्यति नै जटिल छ। दुइतिहाई नजिकको भारी बहुमत हुनुको अर्थ अब 'काम गर्न पाइएन' भन्ने बहानाबाजीको सुविधा छैन। दुई तिहाइ नजिकको मतले संविधानका छिद्रहरू टाल्ने अवसर दिएको छ, तर यसले कतै अधिनायकवादको बाटो त समात्दैनरु नागरिक समाज सतर्क हुनैपर्छ।

पुराना दलहरूका लागि यो निर्वाचन अन्तिम चेतावनी हो। उनीहरूले आफूलाई नसच्याए इतिहासको गन्तव्य संग्रहालय मात्र हुनेछ। नयाँ नेतृत्वका लागि भने यो समय सेलिब्रेटी बन्ने होइन, सेवक बन्ने परीक्षा हो। सडकको आक्रोशलाई मतमा बदलेका जनताले फेरि सडकमै उत्रन बेर लगाउँदैनन् भन्ने कुरा नयाँ शासकले बिर्सनु हुँदैन।

सिंहदरबारको कुर्सी फेरिएको छ, अब कामको शैली र जनताको नियति फेरिनु आवश्यक छ। अन्यथा, यो परिवर्तन पनि अर्को एउटा आवरण मात्रै ठहरिनेछ।

नयाँ सरकारले सत्ता सम्हालेकै रात पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई गिरफ्तार गरेर संसदका दुइ ठूला प्रतिपक्षीलाई रुठ्याएको छ। गिरफ्तार गरिएका पात्रहरुप्रति जनआक्रोश नभएको होइन तर यही निहुँमा विपक्षीहरुलाई संगठित भएर सरकार विरुध्द मोर्चाबन्दी गर्ने अवसर भने मिलेको छ। बलियो बहुमत पाएको सरकारले समय लिएर परिपक्व शैलीमा काम गर्दा नै बुध्दिमानी र सहज हुने छ।

प्रतिक्रिया