काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका ९७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौं महानगरपालिका–१६ बस्ने ४३ वर्षीया उमा गुरुङ, ललितपुर महानगरपालिका–७ बस्ने कास्की घर भएका ३३ वर्षीय आशिष महत र भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने रामेछाप घर भएकी ३५ वर्षीया संगिता श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये अर्जुनले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रुपैयाँ, डिल्लीले मालदिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९९ हजार रुपैयाँ, उमाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ, आशिषले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख रुपैयाँ र संगिताले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ६८ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उमा र संगितालाई काठमाडौं महानगरपालिका–१२ बाट तथा आशिषलाई काठमाडौं महानगरपालिका–१० बाट आइतबार पक्राउ गरेको हो । साथै अर्जुनलाई काठमाडौं महानगरपालिका–४ बाट र डिल्लीलाई काठमाडौं महानगरपालिका–९ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया