समाचार टिप्पणी

'एङ्ग्री योङ म्यान' रबिको नयाँ रुप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा दिएको मन्तव्य यतिबेला चर्चामा रहेको छ । उनको लामो मन्तव्यमाथि टिप्पणी गर्नेहरुका भनाईमा लामिछानेको अभिव्यक्तिको भाषा विगतको 'आक्रामक र विद्रोही' छविभन्दा केही भिन्न, 'जिम्मेवार र सन्तुलित' देखिन्छ। यस मन्तव्यलाई उनका पुराना अभिव्यक्तिसँग तुलना गर्दा देखिने केही तीखा र मुख्य बुँदाहरू यस्ता छन् ।

भाषागत रूपान्तरण

विगतमा रवि लामिछानेका अभिव्यक्तिहरू मुख्यतः भावनात्मक उत्तेजना र पपुलिजममा आधारित हुन्थे। उनले टेलिभिजन स्क्रिनबाट 'सिधै जनतासँग' गर्ने संवादमा एउटा 'एङ्ग्री योङ म्यान' को छवि थियो। तर यो मन्तव्यमा उनी 'नीति र विधि' को कुरा गरिरहेका छन्। उनले 'कुन धाराले कहाँ अड्काएको छ, त्यो अध्ययन गर्नुपर्छ' भन्नुले उनी अब सडकको आवाजलाई ऐनको दफामा बदल्ने चुनौती बुझ्दैछन् भन्ने देखिन्छ।

अराजकताको लेपन पखाल्ने प्रयास

विगतमा रास्वपामाथि लाग्ने सबैभन्दा ठूलो आरोप 'अराजकता' र 'असहिष्णुता' थियो। आफ्ना समर्थकहरूलाई 'गाली-गलौजबाट बाहिर निस्कन' र 'विजेता हुनुको अर्थ छाडा हुनु होइन' भनी उनले दिएको निर्देशन उनको विगतको 'डिफेन्सिभ' शैलीभन्दा फरक छ। यो आफ्नै कार्यकर्तालाई 'तह लगाउने' र पार्टीको छवि सुधार्ने एउटा सचेत प्रयास देखिन्छ।

'म' बाट 'हामी' र 'संस्था' तर्फको यात्रा

रवि लामिछानेको राजनीति सुरुमा 'रवि लामिछाने' नामकै वरिपरि केन्द्रित थियो। तर यस मन्तव्यमा उनले 'म-केन्द्रित राजनीतिबाट बाहिर उठ्न' र 'अनुशासन र विधान' को कुरा गरेका छन्। 'मेरो सपनाको भारी बोक्न यो समाज बाध्य छैन' भन्नुले उनले आफ्नो व्यक्तिगत कदभन्दा माथि संस्था र देशलाई राख्न खोजेको देखिन्छ, जुन उनको राजनीतिक परिपक्वताको परीक्षण पनि हो।

'चौरासी' को डर र ३६ महिनाको अल्टिमेटम

उनको यो मन्तव्यमा एउटा गहिरो आत्मबोध देखिन्छ-'पुरानालाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्नेवाला छैनन्।' यो अभिव्यक्तिले उनलाई प्राप्त जनमतको 'अस्थायी' चरित्र र जनताको तीव्र अपेक्षाको दबाबलाई उजागर गर्छ। विगतमा उनी 'हामी आएपछि जादु हुन्छ' भन्ने शैलीमा प्रस्तुत हुन्थे भने अहिले उनी 'हामीले गल्ती गरे हविगत पुरानाको भन्दा नाजुक हुन्छ' भन्दै सतर्क देखिन्छन्।

बिचौलिया र शक्ति समूह 

सधैँ 'सिस्टम' विरुद्ध बोल्ने रविले यसपटक आफ्नै सांसदहरूलाई 'बिचौलियासँग चिया नखान' र 'फोटो खिचाउने पसल बन्द गर्न' चेतावनी दिएका छन्। यो अभिव्यक्तिले एकातिर उनी भित्रैदेखि सुध्रिन चाहन्छन् भन्ने देखाउँछ भने अर्कोतिर आफ्नै सांसदहरू विचलित हुने हुन् कि भन्ने असुरक्षा पनि झल्काउँछ।
  
समग्रमा, रवि लामिछानेको यो मन्तव्य 'विद्रोही' बाट 'शासक' बन्ने प्रक्रियाको एउटा वैचारिक पुल हो। विगतमा उनी 'प्रश्नकर्ता' थिए, अहिले उनी 'उत्तरदाता' को भूमिकामा छन्।
 
लामिछानेको मन्तव्यको सबल पक्ष हो, जिम्मेवारी बोध, अनुशासनको आग्रह र अन्तर्राष्ट्रिय जगतलाई दिइएको सुझबुझपूर्ण सन्देश। यसमा चुनौतीपूर्ण पक्ष पनि छ, उनले मन्तव्यमा भने झैँ 'काँचुली फेर्ने' काम भाषणले होइन, संसद्का जटिल कार्यसूची र कानुनी छिद्रहरूमा काम गरेर मात्र सम्भव छ। उनको यो 'डे वान' को कडा रूप यदि व्यवहारमा उत्रिएन भने, उनले भने जस्तै '३६ महिना' भित्रै यो उत्साह निराशामा बदलिने जोखिम उत्तिकै छ।

अन्यथा अर्थ नलाग्दा, वास्तवमा रास्वपा एउटा सम्मेलन जस्तै देखिन्छ, जहाँ विभिन्न बिषयगत विज्ञहरु सहभागी छन्। सभापति लामिछानेले पनि यस्तै महसुश गरेका रहेछन्। उनी स्वयंले हामी फरक फरक पृष्ठभूमिबाट आएका छौं भनेर यो कुरा स्वीकार गरेका छन्। तर यो कुनै नकारात्मक पक्ष भने होइन, यो त एकजुट बनेर अगाडि बढ्दा सुन्दर पक्ष नै हो। अगाडिका दिनमा व्यवहारबाट यो सिध्द हुन भने बाँकी नै छ। सभापति लामिछानेले राजनीतिक कमान्ड सम्हाल्ने र बालेन शाहले कार्यकारी प्रमुखका रुपमा एकाग्रचित्तले काम गर्न सकेमा नयाँले केही गरे भनेर गणना गर्न पाईने छ।

यो सफलता शक्तिशाली दल रास्वपालाई मिलोस्, शुभकामना।

प्रतिक्रिया