रौतहट । सोमबार बेलुका आएको विनाशकारी हावाहुरीले रौतहटका विभिन्न स्थानमा लगाइएको मकै बालीमा व्यापक क्षति पुर्याएको छ । घोगा लाग्ने बेलाको मकै बोटै ढलेर सोत्तर भएपछि यहाँका किसानहरू निकै चिन्तित बनेका छन् ।
विशेष गरी जिल्लाको मकै पकेट क्षेत्र मानिने चन्द्रपुर, गुजरा र बृदावन नगरपालिकामा हुरीले बढी क्षति गरेको छ । सोमबार बेलुका करिब १० मिनेटसम्म चलेको तीव्र गतिको हावाहुरीले खेतमा हरियाली छाएको मकै बालीलाई क्षणभरमै काम नलाग्ने गरी ढालेको हो । चन्द्रपुर नगरपालिका वडा नं। २ का पीडित किसान सुब्बा कार्कीले यस वर्ष मकैबाट राम्रो आम्दानी हुने आशा राखेका थिए। तर हुरीले सपना चकनाचुर पारेको उनी बताउँछन् । ‘महँगो मल, सिँचाई र कामदारमा ठुलो खर्च गरेर बाली हुर्काइयो, तर १० मिनेटको हुरीले सबै मिहिनेत खेर फालिदियो,’ कार्कीले दुखेसो पोखे । उनका अनुसार हावाहुरी निकै तीव्र भए पनि वर्षा नहुँदा मकैका बोटहरू भाँचिने र उखेलिने क्रम बढी भएको हो । मकैबाहेक आँप र लिचीमा लागेका बतिला मजुरसमेत हुरीले झारिदिएपछि फलफूल खेती गर्ने किसानलाई पनि उत्तिकै मार परेको छ। चन्द्पुर नगरपालिका वडा नं. ३ र ४ का किसानले लगाएको केरा खेतीमा पनि हावाहुरीले उतिकै क्षति गरेको छ ।
चन्द्रपुरका किसान दिपक गौतमले एक कठा बराबर ७ हजार देखि ८ हजार वार्षीक तिरेर केरा खेती गरिरहेको किसानको अवस्थामा चिन्ता जनक रहेको बताएका छन् । स्थानिय सरकारसँग केरा खेतिको बिमाका लागि पहल गर्र्ने आग्रह गर्दा पनि नसुनेपछि किसान मर्कामा गरेको उनको गुनासो छ । हुरीको प्रभाव कृषिमा मात्र सीमित रहेन। जिल्लाका विभिन्न स्थानमा कच्ची घरका छानो, खपडा, टाली र जस्तापाताहरू समेत उडाएको स्थानीयले बताएका छन् । यसले सर्वसाधारणको जनजीवन समेत प्रभावित बनाएको छ ।
कृषि ज्ञान केन्द्र रौतहटका अनुसार हावाहुरीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने जिम्मा सम्बन्धित स्थानीय तहका कृषि शाखालाई दिइएको छ । ‘हावाहुरीले मकै बालीमा पुर्याएको क्षतिको विवरण पालिकाहरूले संकलन गर्नेछन् र सोही आधारमा राहत तथा क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढ्नेछ,’ केन्द्रले जनाएको छ । मकै खेतीलाई मुख्य आयस्रोत मान्ने रौतहटका किसानहरू अहिले बारीमा ढलेका बोट हेरेर बिलौना गरिरहेका छन्। लागत समेत नउठ्ने अवस्था आएपछि उनीहरूले सरकारसँग उचित क्षतिपूर्तिको माग गरेका छन्।
प्रतिक्रिया