राष्ट्रपति सी जीनपिङको पुस्तक जलेको घटनाबाट चिनियाँ दूतावास स्तव्ध

विराटनगर । चिनियाँ राष्ट्रपति सी जीनपिङले लेखेको पुस्तक मोरङको मनमोहन टेक्निकल कलेज परिसरमा जलाइएको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चीनले गम्भीर चासो देखाएको छ।

नेपालस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत उक्त घटनाबारे सोधखोज गर्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।

दूतावासले अनौपचारिक रूपमा पुस्तक किन र कसले जलायो भन्ने विषयमा जानकारी मागेको जनाइएको छ। पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नाममा स्थापित उक्त कलेजमा चिनियाँ राष्ट्रपति सीले लेखेका एक हजारभन्दा बढी पुस्तक छन्।

यसैबीच, नेकपा एमालेका नेता विनोद ढकालले चिनियाँ राष्ट्रपतिको पुस्तक नियतवश जलाइएको भन्ने प्रचार सत्य नभएको दाबी गरे। उनले क्याम्पस प्रशासनसँग बुझ्दा परिसरभित्रको फोहोर र झाँडी सफा गर्ने क्रममा काम नलाग्ने पुराना कागजपत्र र पत्रिका जलाइएको बताए। सोही क्रममा धमिराले खाएर पढ्न नमिल्ने अवस्थामा पुगेका केही पुस्तकहरू असावधानीवश जलेको उनको भनाइ छ।

सरल पत्रिकाले लेखेको छ- घटनापछि शुक्रबार कलेज परिसरमा भिडभाड बढेकाले जिल्ला प्रहरी कार्यालय मोरङले सुरक्षाकर्मी परिचालन गरेको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले घटनाको वास्तविकताबारे कलेज प्रशासनसँग लिखित जवाफ माग गरिएको बताए। कलेजको आधिकारिक जवाफ आएपछि थप प्रक्रिया अगाडि बढाइने प्रशासनले जनाएको छ।

प्रतिक्रिया