मुस्ताङमा पुन: हिमपात, पर्यटन व्यवसायी र कृषक उत्साहित

मुस्ताङ । मुस्ताङमा पुन: हिमपात भएको छ । हिमपातसँगै कृषक तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, ठिनी लगायत जिल्लाका विभिन्न क्षेत्रमा हिमपात भएको हो । विशेषगरी मुक्तिनाथ क्षेत्र, ठिनी भ्यु टावर आसपास तथा उपल्लो मुस्ताङका क्षेत्रमा हिउँ अझै जमेको जनाइएको छ । हिमपातसँगै मुस्ताङमा हिउँ खेल्न आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको जोमसोमका पर्यटन व्यवसायी निशान तुलाचनले बताए । उनका अनुसार हिमपातपछि मुस्ताङ आउने आन्तरिक पर्यटकको चहलपहल बढ्ने गर्दछ ।

यस वर्ष मुस्ताङमा चौथो पटक हिमपात भएको हो । हिमपात र वर्षाले चिसो बढाए पनि कृषकहरू भने खुसी देखिएका छन् । वर्षा तथा हिमपातले खेतबारीमा प्राकृतिक सिँचाइ हुने, जमिनमा राखिएको मल भिजेर बिरुवालाई आवश्यक पोषक तत्व उपलब्ध हुने भएकाले खेतीपातीका लागि फाइदा पुग्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष सुरेन्द्र गुरुङले बताए । स्थानीय कृषक पाल्चाङ्ग गुरुङ्गका अनुसार हिमपातपछि हिउँ पग्लिएर खेतबारीमा पुगेपछि मल राम्रोसँग घुल्ने र त्यसले बोटबिरुवाको वृद्धि तथा उत्पादन बढाउन मद्दत पुग्छ । यसले आगामी बाली उत्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

घरपझोङ गाउँपालिका कृषि विकास शाखा प्रमुख रोशन थकालीका अनुसार स्याउको मुना फुट्नका लागि आवश्यक माइनस तापक्रम चाहिने भएकाले यसपटकको हिमपात स्याउ खेतीका लागि लाभदायक हुने अपेक्षा गरिएको छ । मुस्ताङमा स्याउ, जौ, गहुँ, उवा र फापर प्रमुख बालीका रूपमा लगाइन्छ । यस वर्षको हिमपातले ती बालीको उत्पादनमा सकारात्मक प्रभाव पर्ने कृषकहरूको विश्वास छ ।

प्रतिक्रिया