काठमाडौं । मध्यपूर्वमा बढ्दो सुरक्षा तनावका बीच अमेरिकी सरकारले क्षेत्रमै रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । सोमबार जारी अद्यावधिक यात्रा परामर्शमा अमेरिकाले संयुक्त अरब इमिरेट्स यूएईमा रहेका नागरिकलाई व्यावसायिक उडानहरू अझै उपलब्ध रहेको तर अचानक उडान रद्द हुन सक्ने सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको हो ।
अमेरिकी विदेश विभागले जारी गरेको परामर्श अनुसार अहिले अबुधाबी र दुबईबाट अमेरिका तथा युरोपका विभिन्न शहरतर्फ जाने व्यावसायिक उडानहरू उपलब्ध छन् । तर क्षेत्रको सुरक्षा अवस्थाका कारण उडान तालिका छोटो सूचनामै परिवर्तन हुन सक्ने वा रद्द हुन सक्ने सम्भावना रहेको बताइएको छ । परामर्शमा यूएईको साउदी अरब र ओमानसँगको स्थल सीमाना खुला रहेको र ती देशबाट पनि व्यावसायिक उडानहरू सञ्चालनमा रहेको जानकारी दिइएको छ । अमेरिकी विदेश विभागले पश्चिम एशियाको सुरक्षा अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाउँदै अमेरिकी नागरिकको सुरक्षा नै सरकारको सबैभन्दा उच्च प्राथमिकता भएको जनाएको छ ।
यसैबीच रियादस्थित अमेरिकी दूतावासले साउदी अरबमा रहेका आफ्ना नागरिकलाई सम्भव भएसम्म व्यावसायिक उडानमार्फत देश छाड्न सुझाव दिएको छ । दूतावासका अनुसार साउदी अरबको हवाई क्षेत्र खुला भए पनि मिसाइल र ड्रोन आक्रमणको सम्भावित जोखिमका कारण हवाई यातायातमा बेला–बेला प्रतिबन्ध लाग्ने गरेको छ । रियाद, जेद्दा र दमामका विमानस्थलहरू भने सञ्चालनमा रहेको जनाइएको छ । तर उडान ढिलाइ वा रद्द हुन सक्ने भएकाले यात्रुहरूलाई एयरलाइन्ससँग सिधै उडानको अवस्था बुझ्न आग्रह गरिएको छ । दूतावासले साउदी अरबमा रहेका अमेरिकी सरकारी कर्मचारीलाई घरभित्रै सुरक्षित स्थानमा बस्न निर्देशन दिँदै सकेसम्म झ्यालबाट टाढा रहन पनि आग्रह गरेको छ ।
यसअघि मार्च ८ मा अमेरिकी विदेश विभागले निरन्तर भइरहेका मिसाइल र ड्रोन खतराका कारण साउदी अरबबाट गैर–आवश्यक अमेरिकी सरकारी कर्मचारीलाई फिर्ता बोलाउने आदेश दिएको थियो । सोमबार बिहान दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोनसँग सम्बन्धित घटनापछि केही समयका लागि उडान स्थगित गरिएको थियो । अधिकारीहरूका अनुसार उक्त घटनापछि लागेको आगो नियन्त्रणमा लिइएको छ र विमानस्थल पुन: सञ्चालनमा आएको छ । अमेरिका, इजरायल र इरानसँग सम्बन्धित जारी द्वन्द्वका कारण मध्यपूर्व क्षेत्रभर सुरक्षा तनाव बढ्दै गएको छ, जसले हवाई यातायात र नागरिक सुरक्षामा समेत असर पारिरहेको छ । एएनआई
प्रतिक्रिया