ललिता दास तत्मालाई  कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले यस वर्षकाे कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार ललिता दास तत्मा ‘विद्रोही’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।

समाजले सामाजिक न्यायका लागि महत्त्वपूर्ण योगदान गर्ने व्यक्तिलाई हरेक वर्ष प्रदान गर्दै आएको १ लाख १० हजार रुपैयाँ राशिको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८२ यस वर्ष ललिता दास तत्मा ‘विद्रोही’ लाई प्रदान गर्ने निर्णय गरेको हो ।

मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापति रेनुका पौडेलले मधेसको दलित समुदायबाट सामाजिक न्यायको आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्नुका साथै दलित, महिला तथा सीमान्तकृत समुदायको अधिकारका लागि उल्लेखनीय योगदान दिएको भन्दै ललिता दासलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको जनाकारी दिइन् । 

पुरस्कार छनौट समितिको बैठक २०८२ फागुन ३० गते सम्पन्न भएको थियो ।

वि।सं। २०४२ साउन १४ गते सिराहा जिल्लाको सन्हैठा गाउँमा जन्मिएकी ललिता दास हाल लहान निवासी हुन् । उनी मधेस प्रदेश सभाकी सदस्य हुनुका साथै प्रदेश सभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिको सदस्य पनि हुन् । साथै उनी जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्यसमेत हुन् ।

जातीय तथा सामाजिक विभेद तथा उठीबासका घटनाविरुद्ध सडकदेखि सदनसम्म आवाज उठाउँदै उनले ‘विद्रोही’ पहिचान बनाएकी छन् ।

प्रतिक्रिया