‘सामाजिक सञ्जाल आगो जस्तै हो’: इन्डोनेसियामा युवाहरूको लागि प्रतिबन्धको तयारी

काठमाडौं । केही अभिभावक र विज्ञहरूले यो प्रतिबन्ध कत्तिको व्यावहारिक रूपमा लागू होला, के बालबालिकाले यसलाई छल्ने बाटो खोज्लान्, र युवाहरूको अनलाइन सुरक्षा सुनिश्चित गर्न डिजिटल साक्षरताले कस्तो भूमिका खेल्ला भन्ने प्रश्न उठाएका छन्।

आफ्ना साथीहरू जस्तै रुफाइदा खान्सा अस सलाम पनि पारिवारिक भ्रमणका यादहरू कैद गर्न मोबाइल फोन प्रयोग गर्छिन् र ती भिडियोहरू आफ्नो युट्युब च्यानलमा अपलोड गर्छिन्।

तर १० वर्षीया आइडियाले यसै महिनाको अन्त्यदेखि आफ्नो अकाउन्ट गुमाउन सक्नेछिन्। इन्डोनेसिया सरकारले आगामी मार्च २८ देखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

सञ्चार तथा डिजिटल मामिला मन्त्री मेउतिया हाफिदले यो कदमले इन्डोनेसियालाई डिजिटल क्षेत्रमा उमेर-उपयुक्त पहुँच प्रतिबन्ध लगाउने 'पहिलो गैर-पश्चिमी देश' बनाउने बताएका छन्।

गत हप्ता यस नियमको घोषणा गर्दै मेउतियाले भने, अब अभिभावकहरूले 'एल्गोरिदमका राक्षसहरूसँग एक्लै लड्नु पर्दैन।' युट्युब, टिकटक, फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्स (ट्विटर), बिगो लाइभ र रोब्लक्स जस्ता 'उच्च जोखिमयुक्त' प्लेटफर्ममा रहेका १६ वर्षमुनिका बालबालिकाका अकाउन्टहरू निष्क्रिय गर्न सुरु गरिनेछ।

डिजिटल आपतकाल

आइडियाकी आमा, ४० वर्षीया विल्ना रोसानाले यस नीतिको समर्थन गर्दै इन्डोनेसियाले 'डिजिटल आपतकाल' सामना गरिरहेको बताईन्। 'यो एउटा संकट हो...बालबालिकाहरू अनलाइनमा बारम्बार खतरनाक सामग्रीहरूको सम्पर्कमा पुग्छन्,' विल्ना भन्छिन्। उनी पहिले प्राथमिक विद्यालयको शिक्षिका हुँदा आफ्ना केही विद्यार्थीहरूले अनलाइनमा अश्लील सामग्री हेरेको पाएकी थिइन्।

अष्ट्रेलियाले डिसेम्बरमा यस्तै नीति लागू गरेपछि विल्नाले इन्डोनेसियामा पनि यस्तै कडा नियमको आशा गरेकी थिइन्। मन्त्री मेउतियाका अनुसार अष्ट्रेलियाले करिब ५७ लाख बालबालिकालाई लक्षित गरेको छ भने इन्डोनेसियामा करिब ७ करोड बालबालिका छन्, जसले गर्दा यो चुनौती अझ ठूलो छ।

प्रतिबन्ध छल्ने चुनौती

धेरै विज्ञहरूले यो नियम कार्यान्वयनमा शंका व्यक्त गरेका छन्। इन्डोनेसिया आईसीटी इन्स्टिच्युटका कार्यकारी निर्देशक हेरु सुतादिका अनुसार बालबालिकाले जन्ममिति ढाँटेर, अभिभावकको अकाउन्ट प्रयोग गरेर वा भिपिएन प्रयोग गरेर सजिलै यस्ता प्रतिबन्धहरू छल्न सक्छन्।

मनोवैज्ञानिक लिडिया एनेस गुल्टोमले बालबालिकाका लागि सामाजिक सञ्जाल मनोरञ्जन मात्र नभई उनीहरूको पहिचान र सामाजिक सम्बन्धको माध्यम पनि भएको बताइन्। उनले भनिन्, 'हामीले यो स्वीकार गर्नुपर्छ कि किशोरकिशोरीहरू 'डिजिटल नेटिभ' हुन्। हामी उनीहरूलाई पूर्ण रूपमा उनीहरूको संसारबाट बाहिर निकाल्न सक्दैनौँ।'

'सामाजिक सञ्जाल आगो जस्तै हो'

१६ वर्षीय हरियोसेनोकी आमा सेकर आयु यो प्रतिबन्धको समर्थन गर्छिन् तर यसको मुख्य कडी अभिभावकको मार्गदर्शन र डिजिटल साक्षरता नै भएको ठान्छिन्। उनी भन्छिन्स् 'मेरो विचारमा सामाजिक सञ्जाल आगो जस्तै हो। वयस्कको हातमा आगो खाना पकाउन काम लाग्छ। तर बालबालिकाको हातमा पर्दा यसले घरै जलाउन सक्छ वा उनीहरू आफैँलाई पोल्न सक्छ।'

धेरै अभिभावक र विज्ञहरूले सरकारलाई प्रतिबन्ध मात्र नलगाएर बालबालिकाका लागि अन्य रचनात्मक विकल्पहरू (जस्तै पुस्तकालय, संग्रहालय भ्रमण वा सामुदायिक कार्यक्रम) उपलब्ध गराउन आग्रह गरेका छन्। आइडियाकी आमा विल्ना भन्छिन्, 'अहिले हाम्रा बालबालिकालाई मार्गदर्शन गर्दा हामी थकित हुनु नै राम्रो हो, ताकि पछि उनीहरूको भविष्य देखेर रुनु नपरोस्।' -सिएनए समाचार

प्रतिक्रिया