काठमाडौं । इरान र अमेरिका-इजरायली युद्धका कारण हवाई इन्धनको मूल्यमा आएको उच्च वृद्धिले विश्वव्यापी उड्डयन उद्योगलाई अस्तव्यस्त बनाएको छ। यसले गर्दा वायुसेवा कम्पनीहरू भाडा बढाउन र आफ्नो वित्तीय प्रक्षेपणहरू परिमार्जन गर्न बाध्य भएका छन्।
हालैका दिनहरूमा हवाई इन्धनको मूल्य प्रति ब्यारेल ८५–९० अमेरिकी डलरबाट बढेर १५०–२०० अमेरिकी डलर पुगेको छ। कुल सञ्चालन खर्चको एक चौथाइ हिस्सा इन्धनले ओगट्ने यस उद्योगका लागि यो ठूलो धक्का हो।
विभिन्न वायुसेवा कम्पनीहरूले यस परिस्थितिमा कसरी प्रतिक्रिया दिइरहेका छन् भन्ने निम्न विवरणबाट थाहा हुन्छ ।
एयर न्यूजील्याण्ड
यो वायुसेवा मंगलबार टिकटको मूल्यमा व्यापक वृद्धिको घोषणा गर्ने पहिलो कम्पनीमध्ये एक बन्यो। साथै, विश्वव्यापी इन्धन बजारमा देखिएको अभूतपूर्व अस्थिरताका कारण यसले आफ्नो आर्थिक वर्ष २०२६ को आम्दानीको पूर्वानुमान समेत स्थगित गरेको छ। आन्तरिक उडानमा १० न्यूजील्याण्ड डलर (६अमेरिकी डलर), छोटो दुरीका अन्तर्राष्ट्रिय उडानमा २० न्यूजील्याण्ड डलर र लामो दुरीका उडानमा ९० न्यूजील्याण्ड डलरले भाडा बढाइएको छ। इन्धनको मूल्य उच्च नै रहेमा थप मूल्य वृद्धि र उडान तालिकामा हेरफेर हुनसक्ने कम्पनीले जनाएको छ।
क्याथे प्यासिफिक एयरवेज
हङकङको यस वायुसेवाले अवरुद्ध भएका हवाई मार्गहरूलाई सम्बोधन गर्न मार्चमा लन्डन र जुरिचका लागि थप उडानहरू सुरु गरेको मंगलबार बताएको छ। एयरलाइनले आफ्नो इन्धन अधिभार मासिक रूपमा पुनरावलोकन गर्ने गर्दछ र गत महिना हङकङ र युरोप वा उत्तर अमेरिकाबीचको उडानमा यसलाई ७२.९० अमेरिकी डलरमा स्थिर राखेको थियो।
हङकङ एयरलाइन्स
यस स्थानीय वाहकले बिहीबारदेखि इन्धन अधिभारमा ३५.२ प्रतिशतसम्म वृद्धि गर्ने बताएको छ। सबैभन्दा बढी वृद्धि हङकङ र माल्दिभ्स, बंगलादेश तथा नेपालबीचको उडानमा हुनेछ, जहाँ शुल्क २८४ हङकङ डलरबाट बढेर ३८४ हङकङ डलर (४९ अमेरिकी डलर) पुग्नेछ।
आईएजी
ब्रिटिश एयरवेजको माउ कम्पनी आईएजीले तत्काल टिकटको मूल्य बढाउने योजना बनाएको छैन भनेको छ, किनकि उसले अल्पकालीन देखि मध्यकालीन समयका लागि आवश्यक पर्ने धेरैजसो इन्धन पहिले नै सुरक्षित गरिसकेको छ।
क्वान्टास एयरवेज
अष्ट्रेलियाली वायुसेवाले मार्च ९ को सातादेखि आफ्ना अन्तर्राष्ट्रिय मार्गहरूमा भाडा बढाउने र आगामी महिनाहरूमा युरोपका विद्यमान मार्गहरूमा उडान संख्या थप्ने विचार गरिरहेको बताएको छ।
एसएएस (स्क्यान्डिभियन एयरलाइन्स) नर्डिक देशहरूको प्रमुख वायुसेवाले हवाई इन्धनको बढ्दो मूल्यका कारण अस्थायी मूल्य समायोजन लागू गरेको जानकारी दिएको छ।
सिंगापुर एयरलाइन्स र स्कुट
सिंगापुर एयरलाइन्सका प्रवक्ताले एसआईए र बजेट एयरलाइन 'स्कुट' को हवाई भाडा माग र आपूर्तिका आधारमा निर्धारण गरिने भएकोले यो परिवर्तनशील हुन्छ भनेका छन् । प्रवक्ताले यी दुबै एयरलाइनले आफ्ना उडानहरूमा छुट्टै इन्धन अधिभार लगाउँदैनन्।
थाई एयरवेज
थाइल्याण्डमा आधारित यस कम्पनीले बढ्दो इन्धन खर्चलाई सम्बोधन गर्न भाडा १० देखि १५ प्रतिशतले बढाउने बताएको छ।
युनाइटेड एयरलाइन्स
यस एयरलाइनका सीईओ स्कट कर्बीले मार्च ६ मा भनेका थिए कि इन्धनको बढ्दो मूल्यले कम्पनीको पहिलो त्रैमासिक नतिजामा 'अर्थपूर्णू (ठूलो) नकारात्मक असर पार्ने अपेक्षा गरिएको छ।
भियतनाम एयरलाइन्स
भियतनामको यस एयरलाइनले हवाई इन्धनमा लाग्ने वातावरणीय कर हटाउन सरकारसँग सहयोग मागेको छ। स्थानीय अधिकारीहरूका अनुसार इन्धनको मूल्य वृद्धिका कारण भियतनामी वायुसेवाहरूको सञ्चालन खर्च करिब ७० प्रतिशतले बढेको छ। सिएनए/फायल तस्बिर
प्रतिक्रिया