हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास

सुर्खेत । कर्णालीका डोल्पा र हुम्ला जिल्लाका विकट मतदान केन्द्रमा हेलिकोप्टरबाट निर्वाचन सामाग्री पुर्याउन थालिएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सामाग्री र कर्मचारीहरु नेपाली सेनाको हेलिकोप्टरबाट मतदान केन्द्रमा पुर्याउन लागिएको हो । गत साता परेको हिउँले बाटो बाटो बन्द भए पनि हेलिकोप्टर प्रयोग गर्नु परेको हो । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा ६, छार्काताङसोङ गाउँपालिकामा ६ र शेफोक्सुण्डो गाउँपालिकाकामा ११ मतदान केन्द्रमा शनिबारदेखि नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचन सामाग्री र कर्मचारी पठाउन थालिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताईन् । हुम्लाको नाम्खा गाउँपालिकामा ४ मतदान स्थलमा पनि हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए ।

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको भृकुटी आधारभूत विद्यालय जाङ, सुनखानी आधारभूत विद्यालय हल्जी, हिमशिखर आधारभूत विद्यालय तील सोही गाउँपालिका–४ को हिमालय आधारभूत विद्यालय चाला मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकोप्टरबाट ढुवानी गरिने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

हिमपातले यातायात सेवा अवरुद्ध भएका कारण चारवटा मतदान केन्द्रमा २० कर्मचारी, नेपाली सेना, निर्वाचन प्रहरी, नेपाल प्रहरीसहितका सुरक्षाकर्मी ८० जना गरी एक सय दुई जना कर्मचारी र निर्वाचन सामग्री हेलिकोप्टरबाटै पठाईने बताए । डोल्पाको छार्काताङसोङ गाउँपालिकाको ढाँडगाउँ, लुङ्गाबगर, छार्का, घेराङ्ग, कागकोट, मुकोट, पुङ्गाबगर, मतदान स्थलमा पनि निर्वाचन सामाग्री र कर्मचारीका लागि हेलिकोप्टर प्रयोग गरिएको छ ।

डोल्पोबुद्ध गाउँपालिकाको धो, कलाङ, ताक्सी, तिन्जे, पोल्दै, सिमेन र शेफोक्सुन्डो गाउँपालिकाको भिजेर, सालदाङ, कोमास, निसाल, कराङ, धुङदार, फोतगाउँ कुगाउँ, साइजल, रिग्मो, पुग्मोका रहेका मतदान स्थलमा हेलिकप्टर प्रयोग हुने भएको छ । निर्वाचनका लागि सामाग्री र कर्मचारी हेलिकोप्टरबाट पु(याए पनि मतदाताहरु भने आउन सक्ने अवस्था नरहेको स्थानीयले बताएका छन् । गाउँका अधिकांश मतदाता जिल्ला बाहिर र चीनको ताग्लाकोटमा रहेकाले उनीहरूलाई लिमी लैजान सडक खुलाउने प्रयास सुरु गरिएको छ ।

यसैबीच, हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ हिल्सा सडक खण्ड र वडा–६ मा पर्ने न्यालु सडक खुलाउनका लागि काम सुरु भएको छ । मतदातालाई आवतजावतमा सहज बनाउनका लागि हिउँले बन्द भएका सडक खुलाउन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताए । सडक खुलाउन हिल्सा सिमकोट सडक आयोजनाले स्काभेटर काममा लगाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी चन्दको भनाइ छ ।

प्रतिक्रिया