काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शहर बजारको हल्ला र लहडका आधारमा मतदान नगर्न सुझाएका छन् ।
शनिवार राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नं. २ को उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले भोट दिने कुरा छोरी दिने भन्दापनि ठूलो कुरा भएको बताउँदै निकै सोच बिचार गरेर मात्र मतदान गर्न आग्रह गरेका हुन ।
उनले भने,‘चुनावको बेला जसले पनि नमस्कार गरेको छ, कसैलाई भोट दिन्न भनेर राख्न मिल्ने कुरा पनि होइन, भोट त दिनै पर्छ तर देशका लागि को ठीक छ, को राष्ट्रवादी छ, हजार पटक सोचेर दिनुपर्छ । मैले गाउँघर तिर सरल भाषामा भन्ने गरेको छु, भोट दिनु भनेको छोरी दिनु बराबर कुरा हो । जाँच गरेर, बुझेर दिएको छोरीपनि गलत मान्छेको हातमा पुग्न सक्छ । गलत मान्छेको हातमा पुग्दा जसरी छोरीले दुःख पाउने हुन्छ, त्यसरी नै गलत पार्टी, गलत मान्छेलाई भोट हाल्दा सिंगो देशले दुःख पाउँने हुन्छ । भोट दिनुअघि राष्ट्रहीत कसले गर्छ गंभीर भएर सोच्न आवश्यक छ ।’
अध्यक्ष लिङदेनले २०४६ सालको परिवर्तनपछि भएको प्रत्येक निर्वाचनमा नाम र झण्डा फरक भएका तर सिद्धान्त एउटै भएका पार्टीहरुले जितेर देश र जनताले के पाए भन्दै प्रश्न गरे । उनले यो निर्वाचनमा भोट दिनुअघि पहिले दिएका भोट दिएका र जितेका मानिसहरुले के गरे भन्ने कुरा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए । देश भूराजनीतिकको चक्रमा फसेको बताउँदै नयाँ भन्ने हल्लाको पछाडि नलागी राष्ट्रवादी शक्तिलाई मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा काठमाडौं क्षेत्र नंबर २ बाट राप्रपा उम्मेदवार कुन्तीदेवी पोख्रेलले अघिल्लो पटकको निर्वाचनमा आफू पराजित हुनुपरेपनि ३ वर्ष आफू यही निर्वाचन क्षेत्रका जनताका लागि खटिइरहेको उल्लेख गरिन ।
उनले यो क्षेत्रबाट विगतमा चुनाव जितेर गएका कसैले पनि फर्केर हेर्ने नगरेको दुःखद पक्ष रहेको उल्लेख गर्दै आफू यही क्षेत्रको बासिन्दा भएकोले जनताका लागि सदावहार रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
उनले भनिन,‘मलाई मिठो बोलेर भाषण गर्न आउँदैन्, म काममा विश्वास गर्ने मान्छे हुँ । हिजो पराजित हुँदा पनि काम गरेँ, निर्वाचित भएपछि यो क्षेत्रका प्रत्येक वडा, क्षेत्रका कुन–कुन ठाउँमा के गर्न सकिन्छ, तपाईको साथ सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
कार्यक्रममा नेताहरु प्रमोद पौडेल, दीपक केसी लगायतका नेताहरुले संवोधन गरेका थिए ।
प्रतिक्रिया