काठमाडौं । भारतका ठूला सुन लुटपाटमा संलग्न मास्टरमाइन्ड सुबोध सिंह उर्फ 'बबुआ' अन्ततः राजस्थान पुलिसको फन्दामा परेका छन्। सुबोध विरुद्ध विगत १० वर्षमा ६ वटा राज्यमा ४०० किलोभन्दा बढी सुन लुटेको आरोपमा प्रहरी मुद्दा दर्ता छ। राजस्थानको राजसमन्दस्थित काँकरोली प्रहरीले करिब दुई वर्ष पुरानो चर्चित सुन लुटपाट प्रकरणमा सुबोध सिंहलाई ओडिशाबाट 'प्रोडक्सन वारेन्ट' अन्तर्गत पक्राउ गरेको हो। प्रहरी अभिलेख अनुसार सुबोधले आफ्नो गिरोहसँग मिलेर सन् २०१८ सम्म जयपुर, पुणे, नागपुर र ब्यारकपुर लगायतका धेरै सहरहरूमा ठूला अपराधहरू गरेका छन्।
को हुन् सुन लुट्ने 'बबुआ' ?
सुबोध सिंह उर्फ बबुआ बिहारको नालन्दा जिल्लाको चिस्तीपुर गाउँका बासिन्दा हुन्। १२ कक्षा उत्तीर्ण गरेका यी मास्टरमाइन्डले सन् १९९६ देखि सानातिना आपराधिक सञ्जालहरूसँग मिलेर अपराध सुरु गरेका थिए र १९९९ सम्म प्रहरीको सुराकी (मुखबिर) को रूपमा पनि काम गरे। जेलमा रहँदा उनले आफ्नो गिरोहलाई निरन्तर बलियो बनाए र जमानतमा छुटेपछि ठूला ज्वेलर्स र बैंकहरूलाई निशाना बनाउन थाले।
अपराध गर्ने तरिका र योजना
हरेक घटनाका लागि सुबोधले पूर्ण योजना बनाउने र गिरोहका सदस्यहरूलाई जिम्मेवारी दिने गर्थे। प्रत्येक लुटपाटमा १५ देखि ३० किलो सुन लुट्ने गरिन्थ्यो। गिरोहले लुटेको सुन नेपाल र पश्चिम बंगाल लगेर गालेपछि बिक्री गर्ने गरेको पाइएको छ।
काँकरोलीको पछिल्लो लुटपाट र पक्राउ
नवभारत टाईम्सका अनुसार, २३ अगस्ट २०२३ मा काँकरोलीको रुपम गोल्ड ज्वेलर्समा चार जना मोटरसाइकल सवार बदमाशले ३ किलो सुन र १८ लाख रुपैयाँ नगद लुटेका थिए। यस मामिलामा प्रहरीले सुबोध सिंहसहित अन्य दुई आरोपीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सुबोध विरुद्ध दर्ता भएका सबै मुद्दामा लुटिएको सुनको कुल परिमाण करिब ४०० किलो रहेको छ।
प्रतिक्रिया