झापा । पूर्वी नेपालको झापामा मौलिक परिकार भक्का प्रसिद्ध छ । यो स्थानीय रैथाने परम्परागत परिकारका रुपमा लोकप्रिय छ । देशका हरेक ठाउँका आफ्नै विशिष्ट परिकार भएझैँ झापाको पहिचानका रूपमा भक्का स्थापित हुँदै आएको छ ।
दमक क्षेत्रमा भक्का खानकै लागि टाढा टाढाबाट मानिसहरू आउने गर्छन्, जसले यो परिकार केवल स्वादमा मात्र होइन, संस्कृतिमा पनि गहिरोसँग जोडिएको देखाउँछ । भक्का व्यापारका लागि न त निश्चित पसल हुन्छ, न त भाडा तिरेर राखिएको कुनै संरचना नै देख्न पाइन्छ । दमकका सडक छेउछाउमै भक्का बनाउँदै र बेच्दै गरेको दृश्य सहजै देख्न सकिन्छ । भक्कालाई विशेषगरी झापा र मोरङमा बसोबास गर्ने राजवंशी जातिको मौलिक परिकारका रुपमा चिनिन्छ ।
सडक किनार र खुल्ला सार्वजनिक स्थलहरुमा न्यून आय भएका स्थानीयहरुका लागि भक्का व्यवसाय जीविकोपार्जनको राम्रो माध्यम समेत बनेको छ । भक्कालाई आधार बनाएर धेरै परिवारको जीविकोपार्जन चलेको छ । झापामा भक्का खान कुनै निश्चित समयको सीमा छैन, बिहानदेखि बेलुकासम्म सहजै पाइने परिकार स्थानीय जीवनशैलीसँग घुलमिल भएको छ । सडकको छेउमै बसेर भक्का बनाउँदै बेचिरहेकी अग्नि राजवंशीले आफूले ०५५ सालदेखि व्यवसाय सुरु गरेको बताइन् । थोरै जग्गा, जमिन भएकाले यही भक्का बेचेर परिवारको आम्दानी चलिरहेको उनको भनाइ छ ।
भक्का बनाउन उनले ‘कान्छी’ नाम गरेको चामल प्रयोग गर्ने गरेको सुनाइन । ‘चामल केही घण्टा भिजाउँछौं । त्यसपछि हल्का सुकाएपछि मिलमा पिसिन्छ । साथै माटोको भाँडोमा पानी तताउँछौं । भाँडाबाट निस्किएको बाफसंगै सानो साइजको कचारामा पिठो राखेर त्यहि बाफमा पकाउछौं । त्यसबाट भक्का तयार गरिन्छ । भक्कासँग स्वाद अनुसारको अचार बनाएर वेच्ने गर्छौं,’ उनले भनिन् । भक्का बनाउन धेरै मेहनत नलाग्ने र यो राजवंशी समुदायको मुख्य परिकार भएपनि सबैले रुचाउने गरेको राजवंशी बताउँछिन् । उनका अनुसार भक्का बनाउने र बेच्ने काममा विशेषगरी राजवंशी समूदाय नै अग्रसर रहँदै आएको छ ।
०५५ सालदेखि नै राजवंशीहरूले यस परिकारलाई व्यवसायिक रूपमा अघि बढाएको उनले बताइन् । भक्का खान आउने ग्राहकहरूले स्वादको प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया दिने गरेको उनी सुनाउँछिन् । त्यस्तै अर्की भक्का व्यवसायी रिंकु भारतकी नागरिक भए पनि लामो समयदेखि दमकमा सडक छेउमै भक्का व्यापार गर्दै आएकी छन् । आफू नेपालको नभए पनि श्रीमान पहिलेदेखि यही क्षेत्रमा बसोबास गर्दै आएको उनले बताइन । यसै कारण आफू पनि यहीँ बसेर परम्परागत परिकारको व्यापार गरिरहेको उनको भनाइ छ । तर सडक छेउमा व्यवसाय गर्दै आएका यस्ता व्यापारीहरू आगामी दिनप्रति चिन्तित छन् । विशेषगरी चुनावपछि नीति नियम कस्तो हुन्छ भन्ने अन्योल उनीहरूमा देखिन्छ ।
काठमाडौंमा महानगरले सडक व्यवसाय हटाएको घटनाले डर पैदा गरेको व्यापारीहरू बताउँछन् । ‘गरिबले गरिखाने उपाय नरोकिने हो’ भन्ने अपेक्षा उनीहरूको छ । उनीहरू भन्छन,‘भक्का एक व्यापार मात्र होइन, झापाको पहिचान र संस्कृतिसँग जोडिएको परम्परा हो, जसको संरक्षण राज्यले गर्नुपर्ने आवश्यकता देखिन्छ ।’ विशेषगरी झापालगायत तराईका मेला, महोत्सव, सडक हटिया, र रेष्टुरेन्टमा पनि जाडोमा भक्का धेरै विक्री हुने गरेको छ । स्वास्थ्यको दृष्टिले भक्का सरल तर सन्तुलित परिकार भएको र बाफमा पाक्ने भएकाले पचाउन सजिलो हुने गरेको छ । पछिल्लो समय भक्कालाई प्रवद्र्धन गर्ने उद्देश्यले भक्का दिवस पनि मनाउने गरिन्छ । (सन्तोषी रावल/नेपाल न्यूज बैँक)
प्रतिक्रिया