मन्थलीमा दूध सङ्कलन केन्द्र स्थापना, किसानको दूध बिक्रीको समस्या समाधान

रामेछाप । रामेछापको मन्थली नगरपालिका–२ का किसानहरूका लागि अब आफूले उत्पादन गरेको दूध बिक्री गर्ने चिन्ता हटेको छ ।

उत्पादन भएको दूध बिक्री नहुँदा आयआर्जनबाट वञ्चित हुँदै आएका किसानले अब जति दूध उत्पादन गरे पनि आफ्नै गाउँमा सहज रूपमा बिक्री गर्न पाउने भएका छन् । मन्थली नगरपालिका–२ को धारापानीमा कृष्णप्रिया फर्म तथा दूध डेरी काठमाडौंले दूध सङ्कलन केन्द्र स्थापना गरेपछि किसानको दूध गाउँमै सङ्कलन हुन थालेको हो । डेरीले गाउँमा खपत हुने दूध गाउँमै बिक्री गर्ने र अतिरिक्त दूध काठमाडौं लैजाने व्यवस्था मिलाएको जनाएको छ ।

सञ्चालकका अनुसार उक्त क्षेत्रमा दूध उत्पादन र सङ्कलनको राम्रो सम्भावना देखिएपछि सङ्कलन केन्द्र स्थापना गरिएको हो । डेरीले किसानलाई गुणस्तरीय दूध उत्पादन गर्न आग्रह गर्दै सरकारले तोकेको मूल्यअनुसार दूध खरिद गर्ने र समयमा नै भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ । गाउँमै दूध सङ्कलन केन्द्र स्थापना भएपछि किसानलाई प्रत्यक्ष लाभ पुग्ने स्थानीयको विश्वास छ । यसले पशुपालन व्यवसायलाई प्रोत्साहन गर्नुका साथै रोजगारीका लागि गाउँ छाडेका युवालाई पुनः गाउँ फर्किन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीले गाउँमै दूध सङ्कलन केन्द्र स्थापना भएकोले किसानलाई दूध उत्पादन बढाई आर्थिक लाभ लिन आग्रह गर्दै स्थानीय कृषि र पशुपालन क्षेत्रको विकासमा यसले महत्वपूर्ण योगदान पुर्याउने बताए ।

प्रतिक्रिया