काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका क्रममा जापान पुगेका छन् ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा गएका हुन् । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारी तथा राष्ट्रपति कार्यालयका पदाधिकारी सहभागी छन् । उनी माघ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।भ्रमणका क्रममा राष्ट्रपति पौडेल जापान सरकारद्वारा आयोजना गरिएको ७० औँ वार्षिकोत्सवको विशेष स्वागत समारोहमा सहभागी हुनेछन् । साथै, माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ ।
त्यसै दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच भेटवार्ता हुने कार्यक्रम छ । भ्रमणका अवसरमा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । यस भ्रमणले नेपाल–जापानबीचको आपसी मित्रता, कूटनीतिक सम्बन्ध तथा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया