काठमाडौं । नेपाली कांग्रेसले नवनिर्वाचित सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा पहिलो पटक बसेको नवनिर्वाचित केन्द्रीय समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो । उपसभापति विश्वप्रकाश शर्माका अनुसार,‘स्पष्ट, विनम्र, बोल्ड ढंगले सभापति गगन थापालाई सभापतिको रुपमा अगाडि सार्ने निर्णय गरिएको हो ।
उपसभापति शर्माले अहिले चर्चामा रहेका भावी प्रधामन्त्रीका उम्मेदवारमध्ये कांग्रेसले प्रस्तावित गरेको उम्मेदवार अब्बल नम्बरका साथ अघिल्लो पङ्तिमा उभिने दाबी गरे ।
‘नेपालमा देखिएका प्रधामन्त्रीको उम्मेदवार भनेर आउने मध्ये कांग्रेसले प्रस्तावित गरेको उम्मेदवार अब्बल नम्बरका साथ अघिल्लो पङ्तिमा उभिने सम्भावना छ,’ उनले भने ।
शर्माले सभापति गगनले परिवर्तित समय र स्वरलाई ‘डाइनामिक ढंगले’ नेतृत्व गर्नसक्ने विश्वास समेत व्यक्त गरे । मुलुकको विशिष्ट परिस्थितिको मागलाई सहि ढंगले सम्बोधन गर्ने जमर्कोको रुपमा लिन कांग्रेसले आग्रह गरेको छ । संयम भाव र सौम्य प्रवृत्तिलाई अघि लगाउनुपर्ने सामथ्र्य गगन थापासँग रहेको पनि उनको भनाइ छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत चुनिएका थापा काठमाडौंको निर्वाचन क्षेत्रबाट सरेर सर्लाहीको ४ नम्बर पुगेका छन् । उनलाई सर्लाहीमा निकै उत्साहजनक ढंगले स्वागत गरिएको कांग्रेस सचिवालयको भनाई छ ।
प्रतिक्रिया