रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ताको क्रममा सिन्धुली–२ मा दुई ठूला दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस भित्र विद्रोही उम्मेदवारी परेको छ ।
नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ विरुद्ध सोही पार्टीका नेता तथा पत्रकार महेश्वर दाहालले विद्रोही उम्मेदवारी दर्ता गराएका छन् । दाहालले पार्टीका नेता हरिबोल गजुरेल, वसन्त माझी, पानीराज बम्जन लगायतको समर्थनमा मनोनयन दर्ता गराएका हुन् ।
जिल्ला पार्टीले सिफारिस नै नगरेका व्यक्तिलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवार बनाएको भन्दै जिल्लास्तरमा असन्तुष्टि देखिएको छ । उम्मेदवार छनोट कार्यदलले पार्टी केन्द्रलाई पत्र पठाउँदै निर्णय पुनर्विचार गर्न सुझावसमेत दिएको थियो ।
यस्तै, अर्को ठूला दल नेपाली कांग्रेसमा पनि आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी परेको छ । पार्टीले टिकट नदिएपछि कांग्रेस नेता खड्ग वाइबाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । सिन्धुली–२ बाट नेपाली कांग्रेसले सुशिला थिङलाई आधिकारिक उम्मेदवार बनाएको छ ।
उक्त निर्वाचन क्षेत्रबाट यसअघिको निर्वाचनमा माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका थिए।
दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा यसपटक नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
नेकपा एमालेले निर्वाचन क्षेत्र नं– १ बाट प्रदीपकुमार कटुवाल र क्षेत्र नं–२ बाट मनोजजंग थापालाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले क्षेत्र नं– १ बाट उज्जल बराल र क्षेत्र न–ं २ बाट सुशिला थिङलाई उम्मेदवार बनाएको छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नं– १ मा डेकेन्द्र सुवेदी र क्षेत्र नं–२ मा लेखनाथ दाहाललाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नं १ मा धनेन्द्र कार्की र क्षेत्र नं २ मा आशिष गजुरेललाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले क्षेत्र नं १ मा रामनारायण अधिकारी र क्षेत्र नं २ मा डा. मुकुन्द गजुरेललाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया