समाचार टिप्पणी

निर्वाचनका 'रोलमोडल' गगन थापा

काठमाडौं । गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित भएका छन्, र निर्वाचन आयोगले उनको नेतृत्वलाई आधिकारिक मान्यता पनि दिइसकेको छ । आयोगको निर्णयले पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डा सहित नेपाली कांग्रेसलाई निर्वाचन तयारी गर्न सहज बनाएको छ।

थापाकै अगुवाईमा सम्पन्न विशेष महाधिवेशनले नेपाली कांग्रेसमा अभूतपूर्व हलचल मच्चाउँदै सर्वथा नवीन अध्याय सुरु गरेको छ। वयोवृध्द नेताहरुको छत्रछाँयामा परिक्रमा गर्दै आएको नेपाली कांग्रेसले झण्डै नाती पुस्ताको नेता शीर्ष स्थानमा पाएको छ। नेतामात्र होइन नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा अधिकांश नयाँ पुस्ताकै नेताहरुको उपस्थिति रहेको छ।

विशेष महाधिवेशनको निर्णय अझै अवरोध मुक्त भैसकेको छैन। निर्वाचन आयोगको निर्णय कानूनी चुनौतिमा परेको छ, जसलाई विशेष महाधिवेशनले विस्थापित गरेका निवर्तमान सभापति शेर बहादुर देउवा पक्षले सर्बोच्च न्यायालयमा महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै रद्द गर्न माग गरेको छ।

देउवा पक्षले पार्टी विधान र महाधिवेशनको वैधानिकता सम्बन्धी मुद्दा लिएर सर्वोच्च अदालतसम्म जाने प्रक्रिया अघि बढाएपछि पार्टी भित्र अर्को चुनौती सिर्जना भएको छ। जसको न्यायिक निरुपण नभएसम्म विशेष महाधिवेशनको निर्णयबारे थोरै भए पनि संशय बाँकी नै रहेको छ। 

सभापति थापा यतिबेला आसन्न निर्वाचनका लागि पार्टीका तर्फबाट सम्भावित उम्मेदवारहरुको नाम छनौट गर्ने र टुंग्याउने कार्यमा व्यस्त छन्। पार्टीकै पूर्व सभापतिले दिएको कानूनी चुनौति मनमा राखेर उनी सिंगो पार्टीबाट सहभागिता रहनेगरी उम्मेदवार चयन गर्ने गृहकार्यमा देखिन्छन्। उनले यही कुरा पटक पटक दोहोर्याउँदै पनि आएका छन्।
 
यति व्यस्तताका बीच पनि सभापति थापाले पार्टी एकतालाई क्षणभर पनि नबिर्सेर समावेशीतामा जोड दिनुपर्ने छ। पार्टीभित्रैको विभाजनको मनस्थिति र कानुनी चुनौतीहरु पार्टीको लोकप्रियता र समग्र निर्वाचन रणनीतिमा कमजोरी बन्न सक्छ कि भनेर सावधानी अपनाउनु सभापति थापा र उनको टिमको सबैभन्दा चासोको बिषय हुनुपर्ने देखिन्छ यतिबेला।

यसैगरी निर्वाचनको तयारी र उम्मेदवार चयन गर्दा सभापति थापाको पहिलो प्राथमिकता रहनुपर्छ निर्वतमान सभापति देउवा र उनको समर्थक समूह। त्यसैगरी विशेष महाधिवेशनमा अलमलमा परेका नेता शेखर कोइराला समेत नेताहरू र विशेष महाधिवेशनलाई तथाकथित, अवैधानिक र गैरकानूनी जस्ता अनेकौं विशेषण जोडेर आलोचना गर्ने असन्तुष्ट समूहलाई समेत पूर्वाग्रह नराखेको देखिने गरी सकेसम्म समेट्दै पार्टी एकता प्रक्रिया सुरु गर्नुपर्ने छ।

जसका लागि संगठनको तहगत सम्वाद  गर्न  मध्यस्थता समिति गठन, विधान अनुकूल समावेशी पुनर्गठन र विवादित मुद्दामा साझा नीति घोषणा गरेर अघि बढ्न सकिनेछ। पार्टीभित्र एकताको भरोसा भएमा मात्र देशभरि सुसंगत चुनावी अभियान सम्भव हुन्छ। विभाजनले मतदातामा भ्रम सिर्जना गर्छ र विरोधी पार्टीलाई फाइदा पुर्‍याउँछ भन्ने कुरा त नेतृत्वले नबुझ्ने प्रश्नै भएन।

विशेष महाधिवशेनले नयाँ नेतृत्व चयन गरेको मात्र नभई नीति समेत नयाँ अवलम्वन गरेको छ, जसलाई तल्लो तहसम्म प्रसार गर्न सक्यो भने नेपाली कांग्रेससँग विगतमा रुष्ट र असन्तुष्ट मतदातालाई आकर्षित गर्न सक्ने देखिन्छ। सभापति थापाको छवि युवा मतदातावीच लोकप्रिय छ भने परिवर्तनमूलक कार्यक्रम घोषणा गर्न सके अझ भरोसा जगाउन सक्छ। तर यसलाई व्यावहारिक नीतिहरू र निर्वाचन अभियान सन्देशमा रूपान्तरण गर्नु आवश्यक छ।

यसका लागि युवा, मधेश, महिलाहरु लगायत समावेश समूहलाई लक्षित सन्देश प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने छ। अर्थतन्त्र, रोजगारी, शिक्षा, भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन लगायत स्पष्ट नीतिगत एजेन्डा माथि भरोसा गर्ने गरी मतदातामाझ नेतृत्व वर्ग जानुपर्ने छ। सशक्त नेतृत्व मध्यम वर्ग र युवा वर्गको लागि भन्ने स्थिर सन्देश प्रवाह गरेर अबको लक्ष्य केवल सस्तो लोकप्रियता मात्र होइन, न नीतिगत रूपरेखा सहितको मतदातासँगको संवाद हो भन्ने कुरा कामले सिध्द गर्नुपर्ने चुनौति पनि नेपाली कांग्रेसको नयाँ नेतृत्वलाई छ।

संसदीय निर्वाचन रणनीति बदलिएको समय सम्वोधन गर्ने किसिमको हुनु आवश्यक देखिन्छ। मिडियाको प्रचारवाजी र केन्द्रिय नेतृत्वको मीठा भाषणका भरमा मात्र अब निर्वाचन जित्ने दिन गए भन्ने कुरा मनमा राख्दै जनताले पत्याउने गरी भरोसा लाग्दो कार्यक्रम सार्वजनिक गर्न आवश्यक छ।

आफैंलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेर पार्टीको कमाण्ड सम्हाल्दै निर्वाचनमा विगतका रेकर्ड तोड्ने गरी परिणाम ल्याउने चुनौति पनि छ सभापति गगन थापाका सामु। नीति र नेतृत्व परिवर्तन गरेपछि नयाँ मतदाताको मन जितेर नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन कम कसरतले पुग्ने देखिँदैन। 

नयाँ नयाँ दलहरु पनि मैदानमा उत्रिँदैछन्। विगतमा सत्ता सहकार्य गरेका पुराना दल यसपाली निर्वाचनमा त्यो सम्बन्ध कायम नरहँदा नेपाली कांग्रेसलाई नै मुख्य प्रतिष्पर्धी मानेर निर्वाचनको मैदानमा प्रस्तुत हुने छन्। यस्तो परिस्थितिमा सभापति गगन थापाले आसन्न निर्वाचनको 'रोलमोडल' बन्न धेरै पसिना बगाउनुपर्ने देखिन्छ।

 
 

प्रतिक्रिया