विशेष महाधिवेशनबाट नवनिर्वाचित सदस्यहरुको सम्मान

काठमाडौँ। नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले विशेष महाधिवेशनबाट निर्वाचित तीन केन्द्रीय सदस्यहरूलाई सम्मान गरेको छ ।

शनिबार काठमाडौँको अनामनगरमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यहरु अजयबाबु शिवाकोटी, हिमालय कर्माचार्य र नगेन्द्र कुमाललाई बधाई दिंदै सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनका माध्यमबाट गरिएको विद्रोहको चेतले अन्य दलहरूलाई पनि पाठ सिकाएको चर्चा गरे । उनले लोकतान्त्रिक दलभित्र खुम्चिएर र पिल्सिएर बस्नुपर्दा देशभरका केन्द्रीय प्रतिनिधि र कार्यकर्ताहरूले विशेष महाधिवेशनमार्फत नेपालको राजनीतिक इतिहासमै प्रभावशाली एवं नौलो सन्देश प्रवाह गरेको बताए ।

नवनिर्वाचित केन्द्रीय सदस्य हिमालय कर्माचार्यले गगन थापाको नेतृत्वमा निर्वाचित नयाँ टिमले देशभर नवीन सन्देश सञ्चार गरेको चर्चा गर्दै नेपाली कांग्रेसको नेतृत्वमा देश समुन्नतिको मार्गमा अघि बढ्ने बताए ।

अर्का नवनिर्वाचित केन्द्रीय सदस्य नगेन्द्र कुमालले विशेष महाधिवेशनले समाजका सबै तहमा उत्साह सञ्चार गरेको बताउँदै नयाँ परिस्थिति अनुसारको उम्मेदवार चयन हुनसकेमा आगामी संसदीय निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी भएर उदाउने आशा व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरीले विशेष महाधिवेशनको बहुआयामिक महत्व रहेको चर्चा गर्दै यसले राष्ट्रिय राजनीतिमा अलग्गै स्थान लिएको बताए ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधव चौलागाईंले विशेष महाधिवेशनको एजेन्डा शुरूमा आफूहरुूले उठाएको दाबी गर्दै पार्टीमा अब समावेशीकरणको मुद्दा सशक्त बनाएर अघि बढ्ने बताए ।

इलाम नगरपालिकका प्रमुख केदार थापाले विशेष महाधिवेशनले चुनेको नयाँ नेतृत्वले असमत पक्षलाई समेत उदारतापूर्वक समेटेर अघि बढ्नुपर्ने सुझाव दिए ।

नेता भेषराज आचार्यले इलाम जिल्लामा कांग्रेसभित्र रुपान्तरित अभियान लिएर जानलाई विशेष महाधिवेशनले सहज बनाइदिएको बताए ।

सम्मान कार्यक्रममा नगेन्द्र कुमाल, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका महामन्त्री गणेश केसी, कांग्रेस इलामका सभापति डम्बर खड्कालागयतले बोलेका थिए ।

प्रतिक्रिया