बाजुरा । देशकै दुर्गम तथा मानव विकास सुचकांकको पुछारमा रहेको जिल्ला बाजुरा, हरेक सेवा सुविधाबाट प्रताडित यो जिल्ला विभिन्न सम्भावनाका हिसाबले निकै धनी छ । प्रचुर सम्भावना बोकेका प्रख्यात धार्मिक तथा प्राकृतिक स्थल यहाँ छन्।
बाजुरा धार्मिक क्षेत्रमा पनि उत्तिकै प्रख्यात । धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकादेखि नाटेश्वरी यहिँ छन्। त्यस्तै अन्य सम्भावना भएका थुप्रै धार्मिक स्थलहरु पनि यहाँ अनगिन्ती छन् । धार्मिक हिसाबले बाजुरा झनै प्रख्यात छ । नौंवटै स्थानीय तहका अधिकांस स्थानमा विभिन्न धार्मिक आस्थाका धरोहर छन् । जसले एक ऐतिहासिक महत्व बोकेका छन् । त्यस्तै एक ऐतिहासिक महत्व बोकेको धार्मिक आस्थाको धरोहरको रुपमा मानासरोवर कैलाशद्वार पादुका त्रिवेणी धामलाई लिन सकिन्छ ।
पादुका त्रिवेणी धाम बाजुराको बुढीनन्दा नगरपालिका वडा।नम्बर १ मा रहेको धार्मिक आस्थाको धरोहर हो । जहाँ बर्षेनी धार्मिक कार्य, पूजापाठ, विवाह, ब्रतबन्ध लगायतका कामहरु हुने गर्छन् । पादुका त्रिवेणी धामले एक ऐतिहासिक महत्व बोकेको छ । हिमाली गाउँपालिका,छिमेकी जिल्ला हुम्ला,मुगुलगायत अन्य जिल्लामा जाने सडकखण्ड तथा रारा पर्यटन मार्ग अन्तरर्गत कर्णाली नदीसँगै जोडिएको प्रसिद्ध धार्मिक स्थल पादुका त्रिवेणी धामको छुट्टै ऐतिहासिक महत्त्व छ । सतिदेविको पाउ पतनसंगै प्राचिन कालमा पाण्डवले बनाएको मन्दिर यहाँ छ ।
बुढिनन्दा, बडीमालिका र शिम्बुनाथको अन्तर स्तुपा भएको ठाउँ, मानासरोवर बडीमालिका, बुढिनन्दाबाट आउने तीनवटा नदीको पनि संगम स्थल भएकाले यसलाई पादुका त्रिवेणी धाम भनिएको हो । पादुका त्रिवेणीधाम सतिदेविको पाउ पतन भएपछि यसको उद्गम भएको हो । पादुका तीन नदीको संगम भएको ठाउँ,अन्य धार्मिक स्थलका अन्तर स्तुपा भएको हुनाले यसलाई चिनिने गरिएको छ । यीनै ऐतिहासिक महत्त्वका कारण पादुका त्रिवेणी धाम चिनिएको छ।यसको ऐतिहासिक रूपमा ५ हजार १ सय ४० वर्ष पुरानो मन्दिर मानिन्छ ।
बाजुराको १ नगरपालिका र ३ गाउँपालिकाको भूगोलका हिसाबले बीच केन्द्रमा रहेको धार्मिक आस्थाको धरोहरका रुपमा यसलाई लिन सकिन्छ । पादुका धाम सुदुरपश्चिम प्रदेशकै एक धार्मिक महत्व बोकेको ऐतिहासिक स्थल हो । यसको संरक्षण,सम्बद्र्धनमा विभिन्न व्यक्ति तथा निकायले सहयोग पुर्याएका छन् । पादुका शिवजीको शिवलिङ्ग स्थापना,सतिदेखीको पाउ प्रदान भएको ठाउँ हो। यहाँ राधाकृष्ण मन्दिर र शिव मन्दिर, पशुपति र गणेशको मन्दिर रहेका छन । १ सय ८ वटा शिव लिङ्ग संगै नौ दुर्गा देवीको मन्दिर समेत रहेको छ । नौ ग्रहको पुजा समेत यहाँ हुने गरेको छ । पादुका धार्मिक तथा पवित्र धाम भएकोले यसको अझै संरक्षण तथा सम्बद्र्धन गर्न आवश्यक देखिन्छ ।
मानसरोवर कैलाशद्वार पादुका त्रिबेणी धाममा स्नान गरे मानवसरोवरसम्म पुग्नै नपर्ने मान्यता रहेको पादुका त्रिबेणी धामका पुजारी मष्टीप्रशाद उपाध्यायले बताए । उनका अनुसार,पादुका पवित्र स्थल भएकोले मानसरोवर जान नसक्ने दर्शनार्थीहरुले पादुकामै दर्शन गरी स्नान गरेको खण्डमा मनोकांक्षा पूरा हुने बताए । पादुुका सति देवीको पाउ पतन तथा मानासरोवर बडीमालिका,बुढिनन्दाबाट आउने तीनवटा नदीको संगम स्थल भएकोले यहाँ आएर दर्शन गरेमा फल प्राप्त हुने बताए । मानसरोवरको मुहानबाट आउने पानीको केही अंश पादुका कुण्डमा निस्कने भएकाले यसको महत्त्व बढि रहेको उनको भनाई छ । आफू करिब २१ बर्षदेखि पादुुकाधाममै रहेर धार्मिक कार्य गर्दै आएको बताउँदै पुजारी उपाध्यायले हरेक समय विभिन्न पुजापाठ,लगायत विभिन्न पर्वहरुमा मेला समेत लाग्ने गरेको जानकारी दिए । पवित्र धार्मिक स्थल पादुका त्रिवेणी धामको अझै प्रचार–प्रसार गर्न सकेको खण्डमा विश्वका चर्चित धार्मिक स्थल जस्तैः बन्न सक्ने बताएका छन् ।
धार्मिक स्थल मध्येकोे एक महत्त्वपूर्ण धार्मिक स्थल पादुका त्रिवेणी धाम बाजुराका दर्जनौँ धार्मिक एवं पर्यटकीय स्थल भन्दा बढी महत्त्व बोकेको पादुका कुण्ड क्षेत्रको रुपमा परिचित छ । पछिल्लो समय पादुका त्रिवेणी धाम अझै संरक्षणको पर्खाइमा छ । विभिन्न सहयोगीदाता तथा निकायको सहयोगमा विभिन्न स्तुपा निर्माण गरिएका छन् । यहाँका स्थानीय तहले अझै पादुकाको संरक्षणमा सहयोग पुर्याएको खण्डमा पादुका क्षेत्र गतिशिल रुपमा अघि बढ्ने र पर्यटकहरुलाई समेत आकर्षक गर्ने धार्मिक गन्तव्यको रुपमा विकास हुने सम्भावना छ ।
यहाँको बुढीनन्दा,जगन्नाथ हिमाली र स्वामि कार्तिक गाउँपालिकाले पादुकाको विकासमा सहयोग तथा सहकार्य गरेको खण्डमा पादुका विकासका हिसाबमा समेत फड्को मार्ने देखिन्छ । पादुका धामको विकास र बिस्तारमा यहाँका स्थानीय सरकार,जनप्रतिनिधी,स्थानीयले महत्त्वपूर्ण भुमिका खेल्न आवश्यक छ । बाजुरामा कतिपय पुरातात्त्विक धार्मिक स्थल संरक्षणको अभावमा लोपन्मुख अवस्थामा पुगेका छन्। धर्मको रक्षा गरी पुरातात्त्विक धार्मिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व भएकोले सबैले धार्मिक सम्पदाको संरक्षणमा लाग्न जरुरी रहेको देखिन्छ ।
प्रतिक्रिया