बाजुराको दानासाँघु खोलामा एकैसाथ दुई पुल निर्माण हुँदै

बाजुरा । बाजुराको दानासाँघु खोलामा एकैसाथ पक्की र बेलिब्रिज पुल निर्माण भइरहेका छन् ।

बाजुराको मार्तडी–कोल्टी सडकखण्डको बुढीनन्दा नगरपालिका– २ अन्तर्गत पर्ने दानासाँघु खोलामा वेलिब्रिज र २५ मिटर लामो मोटरेवल पक्की पूल एकसाथ निर्माण कार्य शुरु भएको हो । पक्की पूल बन्न समय लाग्ने भएकाले उक्त समय सम्म स्थानियलाई आवतजावतमा सहजता दिनका लागि बेलिब्रिज निर्माणको कार्यपनि एकैसाथ शुरु गरिएको बुढिनन्दा नगरपालिकाका नगर उप–प्रमुख राम बहादुर बोहराले जानकारी दिए । बोहराले बेलिब्रिजको शिलान्यास गरेको तीन दिन पछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पक्की पुलको शिलान्यास गरेका हुन् । वर्षौंदेखि यस खोलामा पुल नहुँदा स्थानीय र केहि छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट लगायतका नागरिकले समेत बर्षातको समयमा सास्ती खेप्नु परेको अवस्था छ ।

जडाङ्गाको बेलिब्रिज दानासाँघु खोलामा स्थानान्तरणको लागि निर्माण कार्य भईरहेको हो । सडक डिभिजन कार्यालय साँफेबगरले करिब २ करोड २२ लाख रुपैयाँ लागतमा बेलिब्रिज पुल सार्न लागेको हो भने प्रदेश सरकारको भ्याट र पिएस सहित ३ करोड ९३ लाख ७५ हजार ३ सय ९६ रुपैयाँ लागतमा पक्की पुल निर्माण हुनेछ । पक्की पूल निर्माणका लागि प्रदेश स्थीत भौतिक पूर्वाधार विकास कार्यालयले सहयोग गरेको कार्यालयका प्रमुख इन्जिनियर जंग थापाले जानकारी दिए । उनका अनुसार विसं २०८४ असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने गरि धनगढी ५ हसनपुर कैलालीले पक्की पुल निर्माणको ठेक्का पाएको छ । यस्तै, पक्की पूल निर्माण नहुँदासम्म बेलिब्रिजले सहजता दिने भएकाले एउटै खोलामा दुईवटा पूल निर्माण गर्न लागिएको बुढिनन्दा नगरपालिकाका नगर–प्रमुख जनक कुमार बोहराले बताए । उनका अनुसार पूल निर्माण भए पछि बर्षौदेखिको स्थानीयको सपना साकार हुने छ ।

प्रतिक्रिया