काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनमा संस्थापन पक्षका वरिष्ठ नेता गोपालमान श्रेष्ठ पनि सहभागी हुने भएका छन्। शनिबार महाधिवेशन स्थल भृकुटीमण्डपमा आयोजकले सभापति शेरबहादुर देउवाका निकट नेता श्रेष्ठको सहभागिता हुने कुरा सम्वाददाताहरुलाई जानकारी दिए । उनको सहभागिताले विशेष महाधिवेशनलाई थप गरिमामय बनाउने आयोजकको भनाई छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आयोजित विशेष महाधिवेशन भोलि आइतबारदेखि शुरु हुन लागेको छ ।
पत्रकार सम्मेलनमा नेता सुवाष पोखरेलले पार्टी एकताको पक्षमा उभिएका चन्द्र भण्डारी र सुनिल शर्मासहितका नेताहरूले पनि महाधिवेशनमा सहभागी हुने खबर पठाएको जानकारी दिए। 'हामीले सभापति शेरबहादुर देउवासहित सबै केन्द्रीय पदाधिकारीहरूलाई औपचारिक पत्र पठाएका छौँ,' पोखरेलले भने, 'क्रान्तिको कठिन कालखण्डबाट यहाँसम्म आइपुग्नुभएका सभापतिजीले पार्टीको गरिमा र एकताका लागि हाम्रो निम्तो स्वीकार गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।'
विशेष महाधिवेशनलाई संस्थापन पक्षले यसअघि 'अवैधानिक' भन्दै आएको थियो। तर, गोपालमान श्रेष्ठजस्ता पाका नेताको सहभागिता सुनिश्चित हुनुले कांग्रेसभित्र नयाँ राजनीतिक समीकरणको संकेत गरेको छ।
विशेष महाधिवेशन सचिवालयका अनुसार भृकुटीमण्डपमा हुने उद्घाटन सत्रको सम्पूर्ण तयारी पूरा भएको छ। देशभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम जारी छ। यो महाधिवेशनले कांग्रेसको नेतृत्व परिवर्तन र आगामी निर्वाचनका लागि नयाँ नीति तय गर्ने दाबी आयोजकको छ ।
प्रतिक्रिया