पूर्व राजाको सन्देश: 'हिजो देश नबनेको चिन्ता, अहिले देश नै नरहने हो कि भन्ने निराशा'

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफू नारायणहिटी दरबारबाट बाहिरिएपछि देशले सामना गर्नुपरेको संकटले चिन्तित तुल्याएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले हिजो देश नबनेकोमा चिन्ता रहेको र अहिले देश नै नरहने हुने हो कि भन्ने निराशा पैदा भएको पनि बताएका छन् ।

‘नारायणहिटी राजदरबाट हामी बाहिरिएको करिब २ दशक बित्दा पनि देशले सामना गर्नुपरेको संकटले हामीलाई चिन्तित तुलाएको छ । हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ,’ पूर्वराजा शाहले भनेका छन् । भाषण, जादू र चमत्कारले देश बन्न नसक्ने उनको भनाइ छ ।

‘भाषण अनि जादू, चमत्कारले यो देश बनेको हैन र बन्दैन पनि । सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन । सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्छ भन्ने हाम्रो धारणा र आह्वान छ,’ पूर्वराजा शाहले भनेका छन् ।

उनले थप भनेका छन्, ‘झण्डै दुई दशकअघि शान्ति ल्याउँछौं र आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौं र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरूको चाहना अनुसार, हामीले श्रीपेच जनताको नासो जनताकै सुरक्षित संरक्षित निकायमा बुझाइ सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको सर्वविदितै छ ।’

पूर्व राजाले पृथ्वीनारायण शाहको प्रशंसा गर्दै भनेका छन्, ‘बडामहाराजधिराजबाट २२ वर्षको युवा अवस्थामा नै सुरु गरेको एकीकरणको सफलतापछि आधुनिक नेपाललाई चार वर्ग ३६ जातको साझा फूलबारीको रुपमा चित्रण गरिबक्सेको थियो । यो मुलुक राजाको मात्रै होइन, जनता र राजाको समान स्वामित्वको देश पनि हो भन्ने सन्देश दिइबक्सेको थियो ।

सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै नसक्ने उनको भनाइ छ । ‘सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्छ भन्ने हाम्रो धारणा र आह्वान छ,’ शाहले भनेका छन् ।

 

प्रतिक्रिया